आफैँ निको हुन्छ मौसमी फ्लु, संक्रमणबाट जोगिनुहोस्

मौसम परिवरनसँगै शुरु हुने मौसमी फ्लु एक प्रकारको भाइरसको संक्रमणबाट हुने रुघा–खोकी हो । प्रायःजसो इन्फ्लुएन्जा भाइरसको संक्रमणबाट रुघा–खोकी, ज्वरो आउने, शरीर धेरै दुख्ने, आलस्य हुने, टाउको दुख्ने, आँखाको नानी दुख्ने, नाकबाट पानी बग्ने, हाछ्युँ आउने लक्षणहरु पनि देखिन्छन् ।

मौसम परिवर्तनसँगै हुने रुघाखोकीको समस्या आफैँ निको भएर जाने हुन्छ । सामान्यतया करिब ५–७ दिनमा यस्तो रुघा–खोकीको लक्षणसहित हुने मौसमी फ्लु आफैँ निको हुन्छ ।

भाइरसहरुमा आनुवांशिक स्वरुप परिवर्तन गरी नयाँ रुपमा प्रस्तुत हुने क्षमता पनि हुने भएकाले इन्फ्लुएन्जा भाइरस पनि हरेक मौसममा नयाँ रुपमा प्रस्तुत हुन सक्छ । यसको असरले फलस्वरुप बिरामीहरुमा हरेक पटक केही फरक लक्षण भने आउन सक्छ ।

अहिले, पछिल्लो समयमा देखा परेको मौसमी फ्लुका लक्षण पनि केही लामो समय सम्म बस्ने देखिएको छ भने अन्य पटकको मौसम परिवर्तमा हुने मौसमी फ्लुभन्दा कडा लक्षणहरु बिरामीहरुमा देखिएको छ ।

सामन्य रुघा–खोकी भन्दा पनि अहिलेको मौसमी फ्लु भएको बिरामीमा घाँटी क्याप्प पार्ने, घाँटी धेरै दिनसम्म दुख्ने, नाकबाट अत्यधिक पानी बग्ने, ज्वरो धेरै आउने, शरीरको तपाक्रम १०४ डिग्री फरेनहाइटसम्म पुग्ने, खोकी लामो समय सम्म लाग्ने, पछि खकार आउने, श्वास फेर्न समेत कठिनाई भइरहेको जस्तो महसुस हुने समेत भइरहेको छ ।

इन्फ्लुएन्जा भाइरसविरुद्ध खोप नलगाएका बच्चा तथा वृद्धजस्ता शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा मौसमी फ्लु भएमा ब्याक्टेरियाको थप संक्रमण हुन सक्ने भएकाले निमोनियाका लक्षण समेत बिरामीमा देखिन सक्छ ।

बिरामीहरुमा भाइरसकै संक्रमणको कारणबाट पनि रोग प्रतिरोधात्क क्षमता कम हुन्छ भने बिरामी भएको बेलामा झन् कम खाने बानीले समेत शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।

इन्फ्लुएन्जा भाइरसको संक्रमणबाट भएको मौसमी फ्लु सामान्यतया आरम गरेर, झोलिलो बस्तु खाएर, मनतातो पानी खाएर र ज्वरो कम गर्ने तथा शरीरको दुखाई कम गर्ने औषधि सिटामोल खाएर निको हुन सक्छ ।

एलर्जीको लक्षण भए चिकित्सकको सल्लाहबमोजिम एन्टी हिस्टामिनको समेत प्रयोग गर्न सकिन्छ । आयुर्वेद विज्ञका अनुसार अदुवा, ल्वाङ अनि तुलसीको पातबाट पनि फाइदा पुग्न सक्छ । तर पछिल्लो समय बिरामीहरुमा फैलिएको मौसमी फ्लु केही कडा खालको भएको र बिरामीलाई शरीरको दुखाई, घाँटी अत्यधिक दुख्ने, ज्वारो धरै आउने र लामो समयसम्म बस्ने, खोकी दुई हप्तासम्म भई राख्ने, खकार समेत आउने श्वास फेर्न गाह्रो भए जस्तो हुने भएको र एकैपटक परिवारका धेरै सदस्यालाई यस्तो समस्या देखिएकोले बिरामीहरु आत्ताने गरेका छन् ।

यस्तो अवस्थामा बिरामीहरु त्रसित नभई सचेत रहनु जरुरी छ । कुन अवस्थामा घरमै उपचार गर्ने र कुन अवस्थामा अस्पताल लगेर चिकित्सकको परामर्श लिने भनेर बुझ्नु जरुरी छ ।

भाइरसको यस्तो संक्रमणमा औषधि पसलबाट अनावश्यक एन्टीबायोटिक किनेर प्रायोग गर्नु वैज्ञानिक तवरले उचित मानिंदैन ।

कोभिड त हैन ?

केही दिनयता कोभिडका बिरामी बढिरहेका छन् । एकै दिन करिब २ सयजना बिरामीहरु थपिइरहेका छन् । रुघा खोकीको साथसाथै श्वास फेर्न गाह्रो भएमा, अक्सिजनको मात्रा कम भएमा, नाकले गान्ध थाहा पाउन नसक्ने भएमा, शरीर अत्यधिक दुखेमा कतै कोभिड त हैन भनेर सचेत हुनु आवश्यक छ ।

कोभिडका विभिन्न भेरियन्ट अनुसार केही लक्षण फरक देखिने हुन्छ । पछिल्लो समय कोभिडका बिरामीमा अन्य लक्षणका साथ साथै नाकले गन्ध थाहा पाउने क्षमतामा ह्रास आउने गरेको छ । कसै कसैलाई कोभिडको संक्रमणले सिकिस्त बनाउने भएकोले समयमै यसको पहिचन गरी उपचार गर्नु उचित हुन्छ तसर्थ कोभिड भए, नभएको परीक्षणका लागि अस्पतालमा चिकित्सको परामर्श लिनु आवश्यक हुन्छ ।

यस्तो लक्षण देखिएमा डाक्टरलाई अवश्य भेट्नुहोस्–

सामान्य तया घरायसी स्याहारबाट नै मौसमी फ्लु निको हुन्छ तर कसै कसैमा ब्याक्टेरियाको संक्रमण थपिएर निमोनिया समेत हुने गरेकाले अस्पताल आउनु पर्ने हुनसक्छ भने फ्लुकै कारण बिरामीमा असहजता बढी हुन सक्छ ।

त्यसैले कस्तो अवस्थामा अस्पतालमा जाने भनेर बुझ्नु जरुरी छ । बिरामीलाई ज्वरो तीन दिनभन्दा पनि बढी समय रहेमा, घाँटी दुखेर खान निल्न समेत गाह्रो भएमा, श्वास फेर्न गह्रो भएर छिटो छिटो श्वास फेरेमा, शरीरमा अक्सिजनको मात्रा कम भएको पल्स अक्सिमिटरमा देखिएमा, नाकले गन्ध थाहा पाउन नसक्ने भएमा, खोकी लामो समयसम्म भएर खकारको रंग समेत परिवर्तन भएमा, खकारमा रगत देखिएमा बिरामीले अस्पताल गएर चिकित्सकको परामर्ष लिई उपचार गर्नु राम्रो हुनेछ ।

अन्तमा, मौसमी फ्लु एक प्रकारको भाइरसको संक्रमण भएकाले घरमै गरिने स्याहारबाट निको हुन सक्छ र बिरामीले धेरैजसो समय आराम गर्नु पर्छ भने शरीरमा पानीको मात्र कम हुन नदिन प्रसस्त मात्रामा पनि पिउने र झोलिलो कुरा खान जोड दिनु पर्छ । साथै रुघा खोकीको साथ साथै श्वास फेर्न गाह्रो भएमा, अक्सिजनको मात्रा कम भएमा, नाकले गान्ध थाहा पाउन नसक्ने भएमा, शरीर अत्याधिक दुखेमा कोभिड सम्बन्धी परीक्षणका लागि अस्पतालमा चिकित्सको परामर्श लिनु आवश्यक हुन्छ ।

साथै मौसमी फ्लु र कोभिड दुबै अरुबाट सर्ने भएकोले मास्कको प्रयोग गर्ने, भिडभाडमा अनावश्यक नजाने, बिरामी भएको अवस्थामा आराम गर्ने गर्नुपर्छ ।

(डा. साह जिल्ला अस्पताल, सुनसरीका विशेषज्ञ चिकित्सक हुन् ।)

‘प्रदेश खबर’ बाट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *