त्यो हँसिलो मुहार अनि देश बनाउने सपना

जीवन सधैँ हाँसो र खुसीले मात्र भरिएको हुँदैन । हरेकको जीवनमा आ-आफ्नै खाले दुःख पीडाको समय जोडिएकै हुन्छ । हुन त आफ्नो दुःख बढी लाग्नु मानवीय स्वभाव नै हो । तर सबैका दुःख-पीडाका वजन बराबरी नै हुन्छन् ।

कतिपय पीडा भने मनमा मनखतले बास गरिरहेको हुन्छ । त्यस्तै धत्तेरी मनमा गुञ्जन त्यो कालो दिन हो- फागुन १५ गते । कहीँ न कहीँ कसै न कसैले होसियारी अपनाइदिएको भए आज उहाँको त्यो हँसिलो मुहार, देश बनाउने सपना जीवितै रहन्थ्यो । आज देश पनि रमाउँथ्यो होला । हाम्रो परिवारमा पनि खुसीको आकार ठूलो हुन्थ्यो होला । हो, हाम्रो दाइले हामीलाई छोडेर जानु भएको समय ६ वर्षमा प्रवेश गर्दैगर्दा अझै पनि मन उद्वेलित छ । शून्य छ ।

छाडेर गए पनि उहाँको बहुआयामिक व्यक्तित्व मार्गदर्शकको रूपमा सधैँ जीवित छ । कतिपय विद्यार्थी भाइबैनीहरूका बीच, कतिपय किसान आमा बाबा दाजुभाई बैनीबीच, कतिपय कलाप्रेमी, कतिपय प्राज्ञिक, ब्यावसायिक, सञ्चारकर्मी, गुरूवर्ग लगायत धेरै जनामा बलियो छाप छोड्न छोटो समयमा सफल रहनु भएको महसुस गरेको छु । हतारमा हुनुहुँदैदो रहेछ र रफ्तारमा दौडिनु भएको रहेछ ।

आजको दिनमा दाइ र मेरो उमेर बराबर भयो । म पनि ४९ वर्षको भएँ । उहाँको सोच विचारको महत्व उहाँकै उमेरको हिसावले सोच्न सक्ने भएको छु । उहाँका प्रत्येक सुझाव, सोच्ने तरिका, कार्यसम्पादन गर्ने तरिका, सम्बन्ध बढाउने कुशलताको महत्व बुझ्न सक्ने भएको छु । उमेरसँगै सोचमा परिवर्तन परिपक्वता पनि थपिँदै जाने रहेछ ।

४८ वर्ष सम्मको ममा र अहिले ४९ अनि केही महिनामा पचास वर्षमा प्रवेश गर्दै गर्दा कतिपय स्वभावहरू परिवर्तन हुँदै गएको महसुस गरेको छु । सोचाईको गहिराईसम्म पुग्ने आधारहरू आफैँ तयार हुँदोरहेछ । सकिने कुरा मात्रै सपनाको रूपमा देखिने रहेछ । प्रस्ट स्पष्ट सोचको विकास पनि हुँदो रहेछ ।

हरेक सम्बन्धहरू धेरै नजिकिएर नफुटोस्, धेरै टाढिँदै गएर नटुटोस्, सन्तुलित बन्न बनाउन पनि सिकाउँदो रहेछ । शरीरको फूर्ति कम सोच चेतनाको फूर्ति बढ्दो रहेछ । यसरी लेखिरहँदा दाइले दिएको सुझावको याद आयो । प्रायः परिघटना अनुसार सम्झना आइरहन्छ ।

दाइको त्यो सुझाव थियो ‘कसैसँगको सम्बन्ध सधैँ सन्तुलित रहन जरूरी हुन्छ, मन मिल्दा अँगालो हालेर हिँडिरहने अनि मन नमिल्दा खेदिरहने गर्न हुन्न’ भन्नु हुन्थ्यो । कमजोरी सबैका हुन्छन् । परिस्थितिले निर्माण गरेको गल्ती समयसँगै सोच फेरिन सक्छ । गलत सही र सही गलत हुन पनि सक्छ । धैर्य गरेर सुन्न सक्ने अनि भन्न पनि सक्ने संयम नगुमाउनुलाई सम्बन्धको सन्तुलित स्थिति हो भन्नु हुन्थ्यो ।

यस्ता दूरदर्शी सोच भएका र त्यसैअनुसारको सल्लाह दिने दाइको अभाव पक्कै पनि देशको राष्ट्रिय राजनीतिमा पनि परेकै हुनुपर्दछ । आज देशमा सिद्धान्त, विचार एकातिर, गल्र्याम्म अँगालो अर्कैसित । भाइ भाइ मुख बाराबार । लुछाचुँडीको स्तरहीन राजनीतिमाथि प्रश्न उठ्नु स्वाभाविक हो । हिजोका दबिएका शासकहरू फरक परिस्थितिमा टाउको उठाउन खोज्नु स्वभाविकै हो । जनताको साथ लिएर नयाँ राज्यव्यवस्था ल्याएर पनि सैद्धान्तिक धरातल बिर्सिएर अंकगणित मिलाई क्षणिक स्वार्थमा रहेर एजेन्डा बिर्सिएर गुज्रिएको राजनीति आज असन्तुलित बनेको छ । दलदलमा यता उति गरिरहेको छ । दलदलमा हिँडेको दौडिएको दाबी कतिपय राजनीतिज्ञहरूले भने पनि खुट्टी हेरेर पत्याइदिनु मात्र हो ।

हुनतः म राजनीतिक प्राणी हैन, आफ्नो देशमा पनि बस्दिनँ । परदेशमा बसेर राजनीतिप्रति टीकाटिप्पणी गर्ने नैतिक आधार छैन । स्वीकार्दा स्वीकार्दै पनि दाइ भएको भए केही हदसम्म सन्तुलित राजनीतिसँगै समृद्धिको रफ्तारमा केही सुधार हुन्थ्यो कि मनखत लागिरहने हुँदा भन्न मन लागिहाल्छ ।

दाइको अग्रगामी सोचले आफ्नो मन छोएका कुरा, आफूलाई मन परेका कुरा सबै अरूले पनि थाहा पाउन जरूरी जस्तो लागेर आफूलाई लागेका कुरा संस्मरण गर्दै गएपनि म आफूभित्र पनि सोच्न सक्ने, बुझ्न सक्ने, बुझाउन सकिने, आफूलाई लागेको कुरा अरूलाई पनि बुझाउन कलात्मक तरिकाले नरम शैलीमा विकास हुन्छ कि भनेर लेख्ने जमर्को गरेको छु । अनुभव अनुभूति लेख्न कुनै अध्ययन अनुसन्धान गर्नुपर्दैन र नयाँ पात्र पनि खडा गर्नुपर्दैन । आफूले मन पराएको व्यक्तित्वलाई संस्मरणको रूपमा मनमा राखिरहे कलम सहजै कापीमा दौडिन्छ जस्तो मलाई लगेको छ ।

आज देशमा जे जस्तो राजनीतिक अराजकता छ । सामाजिक अराजकता छ । अर्थतन्त्र रेमिटेन्सको बलमा आयातीत बस्तु उपभोग, बिलासिता व्याप्त छ । राजनीतिज्ञको अपरिपक्वताले गर्दा सबैतिर असन्तुलन छ । यो सबै दोष राजनीतिज्ञलाई थोपरेर मात्र उम्कन सकिने ठाउँ छैन । यसमा हामीले सुधार्न पर्ने भनेको सन्तुलित कसरी बन्ने भन्ने नै हो । यो हरेक नागरिकको जिम्मेवारी हो । मेरो जिम्मेवारी पनि हो ।

जस सबै आफैँ लिने, अपजस जति सबै अरूलाई । पाए र सकेसम्मका पद उपाधि आफैँले लिने अरूलाई अवसर दिन मन खुम्च्याउने । यस्तो छ स्वभाव हाम्रो । म आफ्नो दक्षता के हो देशलाई अनि परिवारलाई कसरी योगदान दिन सक्छु त्यो नसोची एउटै ब्यक्ति कसरी म एक ठूलो व्यापारी बन्ने । सामाजिक अभियन्ता बन्ने । अनि ठूलो राजनीतिज्ञ बन्ने मात्रको होडबाजीले कतै न कतै व्यक्तिगत स्वार्थ लुकेको छ है भनेर ठूलो माइक फुकेर भन्नै पर्दैन । बुझिहाल्छन् नि वरिपरीका जनता, साथीभाइ, परिवारले ।

हाम्रो दाइ विद्यार्थी कालदेखि नै राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले कहिल्यै राजनीतिक बाहेक अर्काे पेसा सोच्नु भएन । जस्तो परिस्थिति आए पनि समस्यासँग जुझ्दै निरन्तर देश र जनताका लागि इमान्दार भएर लागिरहनु भयो । यी सबै देखेर हुर्केको म । यसैको आधारमा उहाँ मेरो दाइ मात्र नभएर रोलमोडल पनि हो । त्यसैले उहाँका भनाई गराई सोचाईको गहिराईमा पुगेर चिन्तन मनन गर्न मन पर्छ । सम्झिरहन मन पर्छ । राजनीति सबै नीतिहरूको प्रधान भएकोले यसको जिम्मेवारी ठूलो हुन्छ । धेरैभन्दा धेरै राजनीतिमा जोडिने होडबाजी भन्दा । एकदम न्यूनतम तर सक्षम इमान्दार व्यक्तिले नै पेशेवर राजनीतिको नेतृत्व गर्ने हो । हामी जस्ता फरक क्षेत्रमा पेशेवरहरू चेतनशील बनेर सक्षम नेतृत्व रोज्नेसम्मको सचेत नागरिक बने मात्र देश एउटा सन्तुलित विकसित मोडलमा जाने हो ।

मेरो पेसा सामान्य व्यवसाय हो । पेशाप्रतिको इमान्दारी दाइकै जस्तो छ । उहाँकै मार्गदर्शनमा हुर्केको भएर होला सायद । दाइले कहिल्यै पनि राजनीति गर्दा जस्तो अप्ठेरो स्थितिमा होस् अथवा सुलभ अवस्थामा होस राजनीतिलाई माध्यम बनाएर बिजनेस व्यापार गरेर परिवारको आर्थिक पहुँच बढाउनेबारे पटक्कै सोच्नु भएन । दाइको सबैभन्दा मनपर्ने चरित्र भनेको यही हो । पेशा प्रतिको इमान्दारी र विश्वास । मलाई पनि अब धेरै कमाएँ अब राजनीति गर्न लागौ भन्ने सोच आउँदैन ।

राजनीतिलाई प्रयोग गरेर व्यापार गर्ने सोच पनि आउँदैन । उहाँले आफू राजनीति गरेपनि वरिपरी धेरैलाई उद्यमी बन्न, कुनै क्षेत्रमा विज्ञ बन्न, राजनीतिमै रूचि भए राजनीति गर्नुपर्छ भन्दै सल्लाह सुझाव र आवश्यक सहयोग पनि गर्नु हुन्थ्यो । धेरैभन्दा धेरै फरकफरक क्षेत्रका विज्ञसँग नजिक रहेर देशैभरी एकखालको राम्रो टिम बनाउनु भएको थियो । यो नै बलियो आधार थियो दाई राजनीतिमा सफल हुनुमा । दाइले अगाडि सारेका भिजनहरू सहजै लागू हुँदै जानुमा त्यस्तो सोचको योगदान छ, चाहे विद्यार्थी राजनीतिमा होस् वा राष्ट्रिय राजनीतिमा ।

म भने सक्रिय राजनीतिबाट सधैँ टाढा छु । राजनीति मेरो पेशा हैन । हो, सेवाको रूपमा मनपर्ने राजनीतिक विचार धारणा राख्नेहरूप्रति सहयोग गर्न सक्छु जो हिजोदेखि गर्दै आएको थिएँ । म त अझ त्यसमा पनि विदेश बसेर राजनीति गर्नु खोज्नु यो त ‘आउट अफ बक्स’ हो कि जस्तो लाग्छ । आजकल त भन्न छोडे पनि धेरैले राजनीति गर्न पर्यो, विभिन्न सामाजिक संघ संस्थामा आउन पर्यो । तपाईं जत्तिको मान्छे आएर नाम कमाउन पर्यो । कुन कुन संघ सस्थामा आबद्ध हुनुहुन्छ जस्ता कुराहरू एवं जिज्ञासाहरु नेपाल जाँदा सामना गर्ने गरेको छु ।

मेरो उत्तर हुन्छ– म मेरो पेशा बाहेक कतै पनि आबद्ध हुन्नँ । तर प्रवासमा बसेर विभिन्न सामाजिक काममा सहयोग गरिरहन्छु । परिवारमा, छिमेकमा, आफू वरिपरी कोही सामाजिक काममा राजनीतिमा सक्रिय हुनुहुन्छ भने खुला दिलले सहयोग पदमा नबसी गर्न सक्छु, गर्छु तर आफ्नो पेसा बाहेक कहिल्यै पनि कहीँ पनि प्रतिबद्ध भएर काम गर्दिनँ । यो मेरो पहिले देखिकै सोच हो ।

यसको अर्थ गर्न सक्नेले भ्याउनेले गर्दा राम्रो हुन्छ । भन्न खोजेको के हो भने काम गर्न समय दिन नसक्ने, पद भने चारैतिर ओगट्ने भन्दा पद काम गर्न सक्नेलाई दिने अनि आफू बाहिरबाट विभिन्न माध्यमबाट सरसल्लाह दिने, परे आर्थिक सहयोग दिने । यस्तो चलन देशभित्र रहेर पनि देशबाहिर गएर पनि यो व्यावसायिक संस्कार विकास नगरेसम्म नेपाली समुदाय विकसित हुँदैन । हाम्रो सामाजिक सोचमा, कार्यशैलीमा परिवर्तन हुँदैन । अनि के नेताहरूलाई मात्र गाली गरेर सर्लक्कै नेपाल विकास हुन्छ त ?

विद्यार्थी नेताबाट राष्ट्रिय राजनीतिमा उत्रिएका युवा नेता मेरा दाजु रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा निधन हुँदा ४९ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँको सपना थियो– समृद्ध नेपाल बनाउने । यो सपना अधुरै छोडेर हामीलाई जिम्मा लगाएर जानु भयो । म राजनीतिज्ञ बनेर उहाँको सपना साकार गर्न नसके पनि आफ्नो क्षेत्रमा विज्ञता हासिल गर्दै इमान्दारीपूर्वक देशको नाम रहने र देशको लागि केही न केही योगदान दिन सकुँ, यो नै जीवनको लक्ष्य बनाएको छु ।

हामी चेतनशील प्राणी । बडो रमाइलो जीवन बाँच्छौं । किनभने हाम्रा ज्ञानेन्द्रियहरूले हामीलाई तातो, चिसो, मीठो नमिठो, आवाज, गन्ध, सुगन्ध, ध्वनि, गीत, संगीत, लय, दृश्य र सम्बन्धहरूको ज्ञान दिन्छन् । यिनै भावना अनि ज्ञानेन्द्रियहरूको मद्दत लिएर संस्मरण लेख्न चाहेको व्यक्तिको सोच र चेतनाको अन्तरमनको गहिराईमा पुगेर थोरैथोरै गरी केही न केही निकाल्न सकियो भने भोलिको पुस्ताले पनि मनको गहिराइमा पुगेर सोच्न सकुन् । बुझ्न सकुन् । सम्झन सकुन् ।

सन्तुलित सोच, सन्तुलित विचार, सन्तुलित सम्बन्ध, सन्तुलित जिम्मेवार र सन्तुलित भोजन यी पाँच कुराहरूको सन्तुलन नभएसम्म जति मिडियामा आएर, सामाजिक सञ्जालमा आएर, यसरी लेख लेखेर देशमा आमूल परिवर्तन हुने सम्भावना देखिँदैन । सरल उपाय हो– एक ब्यक्ति सन्तुलित बन्न सकिने वातावरण तयार गर्नु । यसको लागि बाल बच्चाको उमेरदेखि आधारभूत भए पनि समान अवसरमा बाल मस्तिष्कको विकास गर्न सकिने देश बनोस् ।

दाइ…लेख्दा लेख्दै टाढै पुगेछु । एकपटक घरमै फर्कन्छु । घरमा आमा, बाबा, भाउजु, दुई छोराहरूसँगै भाइबैनी मलगायत सम्पूर्ण परिवार आरामै छौं । हजुरलाई सम्झिरहन्छौ । छोराहरू हर्लक्क ठूला भैसके । सानो छोरो मभन्दा अग्लो भैसक्यो । बाबाआमा अलि वृद्ध हुनुभए पनि छोराछोरी, नाति नातिनालाई पीर होला, दुःख होला भनेर समयै खाने, आयाम व्यायाम गर्ने, सन्तुलित जीवन यापन गरिरहनु भएको छ ।

हजुर जहाँ चिर निन्द्रामा हुनुहुन्छ त्यहीँ शान्तिपूर्ण रहनु होला । हार्दिक श्रद्धासुमन दाइ । मिस यू अ लट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *