आत्मदाह गरेका आचार्यको परिवारलाई विदेशका नेपालीबाट सहयोग जुटाइँदै

काठमाडौं। नयाँ बानेश्वरको संसद भवन अगाडि आत्मदाह प्रयास गरेपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई सहयोगका लागि क्यानाडाका नेपालीले अभियान सुरु गरेका छन्।

उद्यम व्यवसाय गर्दा ६० लाख रुपैयाँ ऋण लागेका र फेरि व्यवसायमा फर्कन कतैबाट साथ नपाएपछि केही उपाय नलागेर आफूले त्यस्तो बाटो समाएको उनले आत्मदाह गर्नुअघि लेखेका थिए।

उनको निधनपछि दुई छोरी र श्रीमतीलाई लालनपालन र शिक्षादिक्षाको समस्या पर्ने भएकाले सहयोग जुटाउने अभियान चलाइएको हो। सहयोग संकलन अभियानको लक्ष्य २० हजार क्यानेडीयन डलर रहेको जनाइएको छ।

यसैगरी उनको परिवारलाई व्यवसाय गर्ने क्रममा ६० लाख रुपैयाँ ऋण पनि तिर्नुपर्ने बाध्यता छ। तत्काललाई परिवारको सहयोगका लागि विदेशमा बस्ने नेपालीले यथासक्य सहयोग गरौं भन्ने अभिप्रायले सहयोग अभियान सुरु गरिएको जनाइएको छ।

उनको परिवारलाई सहयोग गर्न चाहनेले यो लिंकमा गएर रकम जम्मा गर्न सक्ने जनाइएको छ।

फेसबुकमा लामो सुसाइड नोट लेखेर इलाम पञ्चकन्या-६ का ३६ वर्षीय आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर मंगलबार आत्मदाहको प्रयास गरेका थिए।

प्रहरीले उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो।

आचार्यले फेसबुकमा आफू उद्योगी, व्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गरेका छन्।

पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नुपरेका समस्या उल्लेख गरेका छन्।

आफू डिप्रेसनमा भएको, तर कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको समेत उनले खुलाएका छन्।

‘नेपालटच’ बाट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *