शुभाशिष छ विवश भाइलाई
मेरो शुभाशिष छ ज्ञानेन्द्र विवश भाइलाई ! कथा, उपन्यास लेखेर आफूले देखेको, भोगेको र अनुभव गरेको कुरालाई लेख्दै आइरहेकी मैले मेरो पछिल्लो पुस्ताका प्रिय भाइका बारेमा केही लेख्ने कोसिस गर्दैछु। र, मलाई धेरै नै खुसी पनि लागिरहेको छ।
विवश भाइका बारेमा लेख्न बस्दा मेरो मनमा उनका तस्बिरहरू आइरहेका छन्। एकछिन मैले उनको सौम्य अनुहारलाई सम्झिएँ। उनको लेखनलाई फर्किएर हेरेँ। सरल, आत्मीय र अग्रजप्रति हार्दिक भाव राख्ने स्वभावका भाइका विषयमा कसरी र के लेख्ने होला भनेर एकछिन सम्झिएँ। साथै विवश भाइको स्निग्ध मुस्कान छरेर बोलेको सम्झँदै म लेख्न बसेँ।
भाइको कलाकार र साहित्यिक व्यक्तित्व मेरो मनमा झुल्कियो। उनको दुवै व्यक्तित्वलाई स्पर्श गरी मैले लेख्न सोचेँ।
म आफू कथाकार हुँ, उपन्यासकार हुँ र गायिका पनि हुँ। लेखनमै मेरो जीवन बित्यो। कति कल्पना, परिकल्पनाले अनुभूतिहरू अभिव्यक्तिको आकाशमा उडे। मेरा कथामा मैले मेरै समय र समाजको यथार्थ पक्षलाई उतारेकी छु। समाजका महिला वर्गका पीडाले मलाई भित्रैसम्म छुन्छ। मैले कैयौँ यस्ता पात्रहरूलाई आफ्ना रचनामा उपस्थित गराएर न्याय दिने कोसिस गरेकी छु।
तर व्यक्तिको चिनारी लेख्न मलाई अप्ठ्यारो भए तापनि मेरो प्रिय भाइका निम्ति केही न केही त लेख्नैपर्छ भन्ने लाग्यो। उनको सरलता, नम्रता र लेखनमा इमानदार छवि मलाई मनपर्ने कुरा हुन्।
मैले सर्वप्रथम त साहित्यिक र कलाकार जगत्मा आफ्नो बलियो स्थान ओगटेका भाइलाई हृदयदेखि नै शुभाशिस दिँदै सानो उद्गार पोख्न चाहन्छु।
“…लेखन मेरो खुसी हो। लेखेर अभिव्यक्ति दिँदा, शब्दमा आफूलाई अभिव्यक्त गर्दा प्राप्त हुने सन्तुष्टिले मलाई निरन्तर ऊर्जा दिइरहन्छ। कहिले अस्वीकृतिको मौनता आयो, कहिले उपेक्षाको धुलो तर तीभन्दा माथि लेख्ने क्षणको आनन्द जहाँ म पूर्ण र स्वतन्त्र छु।” यसरी लेखनप्रति सन्तुष्टि र आनन्द व्यक्त गर्ने ज्ञानेन्द्र विवश लेखनप्रति समर्पित एक जिम्मेवार साधक हुन्। उनको साहित्य र कला दुवैमा उत्तिकै योगदान रहेको छ।
उनी भन्छन्- “…जब मैले यात्रा गरेँ, मैले केवल हिँडिनँ; चित्र कोरेँ, मैले केवल रङ घोलिनँ, आत्माको गहिराइबाट निस्केका आकारलाई जीवन दिएँ।”
उनी एक कुशल चित्रकार पनि हुन्। साहित्य र कलालाई आफ्नो जीवनसँगै आत्मसात् गर्ने水中 उनको साहित्यिक व्यक्तित्व र कलाकार व्यक्तित्वले उनलाई साहित्य तथा कलाक्षेत्रमा स्थापित गरेको छ।
उनी एक सफल निबन्धकार, नियात्राकार, कवि तथा कलामर्मज्ञका रूपमा मैले चिन्दै आएकी छु। बेलाबेलामा उनले कलाकृतिको समीक्षा गरेको पनि पढ्न पाएकी छु। तर उनले निबन्ध र नियात्रामा नै आफ्नो कलमलाई तिखारेका छन् जस्तो मलाई लाग्छ। कतै जाँदाका व्यक्तिगत अनुभवहरू हुन् वा कसैलाई भेट्दाका पलहरू, ती सबैलाई उनी शब्दको यात्रामा बेग्लै किसिमले प्रस्तुति दिएर पाठकलाई आकर्षित पार्न सक्छन्।
आफ्नो लेखन क्षेत्रमा गरेको निरन्तर सिर्जनात्मक कर्मका लागि विवश भाइले विभिन्न पुरस्कार र सम्मान पनि पाएका छन्। पुरस्कार पाउँदा उनलाई गर्व लाग्नु स्वाभाविक हो। उनको प्रगतिमा मलाई पनि खुसी नै लाग्छ।
“…पुरस्कार पाउनु र नपाउनुप्रति कुनै गुनासो गर्दिनँ। बरु आफू पुरस्कारको पछि कहिल्यै नलागेको” उनी बताउँछन्। तर पनि उनले केही पुरस्कारहरू पाएका छन् र सम्मान पनि! उनको कुराले मलाई पनि मनभित्रै छोयो। किनभने हिजोआज पुरस्कार र सम्मानका लागि मरिहत्ते गर्ने, भनसुन र चाकडीको प्रचलन भित्रभित्रै चलिरहेको सुनिन्छ। पुरस्कार पाएर सम्मानित हुनुभन्दा पुरस्कार नपाउनु नै सम्मानित भएको ठानिने जमात पनि छन्।
यसै सन्दर्भमा विवश भाइको भनाइले मलाई पनि चस्स छुनु स्वाभाविक हो। म त भन्छु, पुरस्कार दिने संस्थाले पुरस्कार प्रदान गर्दा नातागोता, भनसुनलाई कहिल्यै पनि हेर्नु हुँदैन। साहित्यकारको योगदानलाई मूल्याङ्कन गरेर पुरस्कृत गर्नुपर्छ। यसो भयो भने पुरस्कार प्रदान गर्ने संस्थाको पनि इज्जत रहन्छ र पुरस्कृत हुने स्रष्टाको पनि शिर ठाडो हुन्छ।
पुरस्कारप्रति䀘 उनको यस्तो धारणा छ- “…मैले पाएका पुरस्कार मेरो मौलिक सिर्जनाको प्रतिध्वनि हो। अनुभूतिको आत्मलेख हो। यात्रामा पाइने एउटा मीठो विश्राम हो। अनवरत साधनाको स्वीकारोक्ति हो। साथै मनको गहिराइबाट निस्कने प्रेरणाको प्रतिध्वनि हो।”
उनले शङ्कर लामिछाने राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), अरनिको युवा कला पुरस्कार (२०६१), शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार (२०७९) आदि पाएका छन्। मुख्य पुरस्कारबाहेक उनले अरू पनि धेरै पुरस्कार र सम्मानहरू पाएका छन्, जुन उनको निरन्तर लेखनको उपलब्धि हो भन्दा फरक पर्दैन। उनले पाएका यी पुरस्कार र सम्मानहरू उनको योगदानकै उचित मूल्याङ्कनबाट प्रदान गरिएको हो भन्ने कुरामा म ढुक्क छु।
विवश भाइको लेखनमा आफ्नै किसिमको इमानदारी पाइन्छ। व्यक्तिगत अनुभव होस् या कुनै व्यक्तिको चिनारी लेखाइ वा कुनै भ्रमणको अनुभव आदि लेख्दा उनको आफ्नोपन त्यसमा झल्किएको प्रस्टै देखिन्छ। किनभने उनी इमानदार, सरल र सोझा छन्। कसैको खुसामद गर्ने स्वभावका भाइ होइनन्। त्यसैले ‘मलाई पुरस्कार दिनुहोस्’ भनी कसैकहाँ भन्न जाने स्वभावका भाइ उनी होइनन् जस्तो मलाई लाग्छ। लेखनमै रमाउने र लेखनमा आफ्नो फरक किसिमको चिनारी विवश भाइले बनाइसकेका छन्।
उनी भन्छन्— “…यी पुरस्कारहरू आकस्मिक प्राप्ति थिएनन्। यी त मेरा निबन्धका हरेक शब्दमा गुन्जिएका भावना, नियात्राको प्रत्येक अनुच्छेदमा समेटिएका पदचाप र फुर्सदमा चित्रकला सिर्जनामा पोखिएका अनि अनेक रङहरूले मिश्रित रङहरूको मौन संवाद थिए।”
आफ्नो सिर्जनाप्रति यस्तो विचार राख्ने उनी एक सफल निबन्धकार र कलाकारको छवि लिएर उभिएका छन्। ज्ञानेन्द्र विवश भाइको धारणाप्रति मेरो पनि स्वीकारोक्ति छ। निबन्ध, नियात्रा र कलासम्बन्धी उनका थुप्रै किताबहरू प्रकाशित छन्।
अग्रज पुस्ताको नाताले उनलाई शब्दमा उतार्दा साह्रै सौम्य, हँसिलो र आफ्ना सिर्जनाप्रति उत्तरदायित्वबोध गर्ने उनी एक इमानदार साधक हुन् भन्ने मलाई लाग्छ।
मैले उनलाई किशोरावस्थादेखि नै चिनेकी हुँ। आफ्ना अग्रजप्रति आदरभाव राख्ने ज्ञानेन्द्र भाइको सिर्जनाप्रति लगाव र निरन्तरताले उनलाई साहित्यिक र कलाकार फाँटमा सबैले रुचाउँछन्। एक सफल साहित्यकार तथा कलाकारको छवि लिएर उभिएका भाइलाई आफ्नै सिर्जनाले यहाँसम्म ल्याइपुर्याएको हो भन्ने कुरामा म विश्वस्त छु।
अन्तमा, उनी अनवरत सिर्जनामा लागिरहने एक साधक हुन्। सधैँ लेखिरहने, सधैँ आफ्ना सिर्जनामा रमाइरहने उनको स्वभाव मलाई मनपर्छ। आफ्नो लेखकीय सिर्जनामा उनको आफ्नै किसिमको छुट्टै पहिचान छ। साहित्य र कलालाई आफ्नो जीवन ठान्ने बहुप्रतिभाशाली साहित्यकार तथा कलाकारलाई म हृदयदेखि आशीर्वाद दिन्छु।
लेख्न त धेरै सकिन्थ्यो, तर जेजति मैले यहाँ लेखेँ, विवश भाइप्रति मेरो हृदयभित्रको पवित्र उद्गार हो।
ज्ञानेन्द्र भाइ, निरन्तर यसरी नै सधैँ अगाडि बढिरहनू। भाइको सिर्जनाले आकाश चुमोस्! यही शुभकामनासहित भाइको निरन्तर प्रगतिको कामना गर्दै मेरो हृदयको उद्गारलाई यहीं विश्राम दिन्छु। धन्यवाद।
