चिया र सुपारी निर्यातका अड्चन कूटनीतिक पहलबाट समाधान हुँदै : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया र सुपारी निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अड्चनहरू क्रमशः समाधान हुँदै गएको बताएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विशेष गरी चिया निर्यातमा देखिएको अवरोध कूटनीतिक पहलपछि हटेको जानकारी दिएका हुन्।
नेपाली चिया भारत निर्यात गर्दा पटक–पटक भोग्नुपर्ने समस्या समाधानका लागि सरकारले भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा तथा मानक प्राधिकरण र भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको उनले बताए।
गत चैतमा आफ्नो भारत भ्रमणका क्रममा उच्चस्तरमा भएको छलफलको परिणामस्वरूप भारतले आफ्नो नीतिमा केही परिमार्जन गरेको मन्त्री खनालले स्पष्ट पारे।
भारतले नीति सुधारेपछि अहिले नेपाली चियाको भारत निर्यात पहिलेभन्दा निकै सहज भएको उल्लेख गर्दै उनले दिल्लीस्थित नेपाली दूतावासले यसबारे नियमित कूटनीतिक प्रयास जारी राखेको समेत जानकारी दिए।
सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यातमा देखिएको समस्याबारे सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सरकार यसबारे पूर्ण रूपमा जानकार रहेको र समस्या सल्टाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको बताए।
सुपारी निर्यातका लागि आवश्यक कूटनीतिक र प्राविधिक प्रक्रियाहरू पूरा गर्न परराष्ट्र मन्त्रालयले पहल थालेको उनको भनाइ थियो।
मन्त्री खनालले नेपालको आर्थिक र विकास कूटनीतिलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए।
कृषिजन्य उत्पादनको निर्यातमा आउने अवरोधहरूलाई छिमेकी राष्ट्रहरूसँगको आपसी समझदारी र कूटनीतिक वार्तामार्फत नै टुङ्ग्याइने उनले स्पष्ट पारे।
