निन्द्रा र आनुवंशिक सम्बन्ध

आफ्ना सन्तान स्वस्थ, राम्रा, विद्वान्, असल र सफल हुन् भन्ने चाहना मातापिताहरूमा हुनु स्वाभाविक हो। यसका लागि अभिभावकहरूले आफ्ना बालबालिकालाई बाल्यकालदेखि नै आफूले जाने अनुसारका तालिम र अर्ती-उपदेश दिने गर्छन्। यस पङ्क्तिकारलाई पनि आमाहरूले अर्ती-उपदेश दिइरहने गर्नुहुन्थ्यो- यसो गर्नु, उसो नगर्नु भनेर।

‘डुज् एन्ड डोन्ट्स’ को आफ्नै चेकलिस्ट थियो उहाँहरूको। यसरी दिइने निर्देशमा एउटा कुरा कहिल्यै छुट्दैनथ्यो, त्यो हो- बिहान सबेरै उठ्नू। सुनुन्जेल त भइहाल्छ नि, कुन ठूलो कुरा हो र भनेजस्तो लाग्ने तर भोलिपल्ट बिहान, खासगरी जाडोयाममा, आफू सिरकभित्र गुँडुली परिरहेका बेला आमाहरूले उठाउँदा भने कति कचकच गरेको होला, एकछिन सुत्न दिनु नि, उठेर गर्नै पो के छ र भनेजस्तो लाग्थ्यो।

स्कूल जान थालेपछि सरहरूले प्रसङ्गवश विभिन्न उक्तिहरू सुनाउँथे, जसमध्येका दुईवटा अझै सम्झनामा ताजै छन्- ‘उद्देश्य के लिनु उडिछुनु चन्द्र एक’, अनि अङ्ग्रेजीमा ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज मेक्स अ म्यान हेल्दी, वेल्दी एन्ड वाइज’। महाकविको चन्द्र छुने कुरा त रमाइलै लाग्थ्यो किनभने त्यसबेला हाम्रा पनि सपना झिनामसिना हुँदैनथे तर संयुक्त राज्य अमेरिकाका राष्ट्रपिता मानिएका बेन्जामिन फ्र्याङ्क्लिनको अर्तीको ‘अर्ली टु बेड’ ठीकै लागे पनि ‘अर्ली टु राइज’ सम्झिँदा पुनः एक पटक हाइ काढ्दै आङ तान्न मन लाग्थ्यो।

स्कूल जानुपूर्व संस्कृत पढ्दा हजुरबाले कण्ठस्थ पार्न लगाउनुभएको एउटा श्लोक त बिर्सिने कुरै भएन-

“ब्राह्मे मुहूर्ते उत्तिष्ठेत् स्वस्थो रक्षार्थमायुषः।

तत्र सर्वं परित्यज्य शरीरमनुपालयेत्॥”

यस श्लोकको अर्थ हुँदोरहेछ- स्वस्थ व्यक्तिले आफ्नो आयुको रक्षा गर्नका लागि ब्रह्ममुहूर्तमा उठ्नुपर्छ। शरीर स्वस्थ भए मात्र अन्य सबै कार्यहरू गर्न सकिने भएकाले यो नै दिनचर्याको पहिलो नियम हो।

उपर्युक्त श्लोकमा भनिएको आयुले जीवन र स्वास्थ्य, र ब्रह्ममुहूर्तले सूर्योदय हुनुभन्दा लगभग १ घण्टा ३६ मिनेट अगाडिको समयलाई जनाउने रहेछ। ब्रह्म भनेको ज्ञान हो र यस्तो ज्ञान प्राप्त गर्ने समयलाई ब्रह्ममुहूर्त मानिएको रहेछ। अर्थात्, अध्ययन-अनुसन्धान, चिन्तन-मनन कार्यका लागि यो समय उत्तम हुन्छ। रातभरि विश्राम गरेर मस्तिष्क पनि चङ्गा भएको जो हुन्छ।

यो श्लोक ‘अष्टाङ्गहृदयम्’ नामको प्रसिद्ध आयुर्वेदिक ग्रन्थ (सूत्रस्थानको दोस्रो अध्यायको दोस्रो श्लोक) बाट लिइएको रहेछ। महर्षि वाग्भटको सिर्जना मानिएको यो ग्रन्थ आयुर्वेदको प्रमुख संहिता हो। आयुर्वेद भनेको पनि जीवन, अझ भनौँ स्वस्थ जीवनसम्बन्धी ज्ञानको भण्डार हो। त्यसैले यस ग्रन्थमा शारीरिक रोगहरूको निदान, चिकित्सा, औषधि निर्माण, शल्यक्रिया र स्वस्थ जीवनशैलीका बारेमा वर्णन गरिएको यसका जानकारहरू बताउँछन्।

आयुर्वेद पूर्वीय चिकित्सा प्रणाली र आयुर्विज्ञान हो, जसलाई वेदको उपवेद मानिन्छ। यसले स्वस्थ जीवनशैली, जडीबुटी र प्राकृतिक उपचारका माध्यमबाट शरीरको सन्तुलन मिलाउने काम गर्छ। आयुर्वेदका अनुसार मानव शरीर वात, पित्त र कफ (त्रिदोष) मिलेर बनेको हुन्छ। शरीर स्वस्थ राख्न यी तीनको सन्तुलन आवश्यक छ। आयुर्वेदको दृष्टिमा जुनसुकै रोग पनि त्रिदोषको असन्तुलनबाट उब्जिने हो। अतः जुनसुकै रोगको उपचार गर्दा रोगीको शरीरमा भएको त्रिदोषको असन्तुलनलाई सन्तुलित बनाउने अभ्यासका रूपमा गरिन्छ। यस्तो सन्तुलनका लागि योग र आयुर्वेद दुवैले ब्रह्ममुहूर्तमा उठ्नुपर्छ भन्छन्।

योगले सबैका लागि ब्रह्ममुहूर्तमा उठ्ने, शौचादि कर्म सक्ने र योगादि क्रिया सकेर मात्र अन्य सांसारिक कर्ममा लाग्ने दैनिकी बनाउन सुझाउँछ। हाम्रो जीवनपद्धति र कर्मसंस्कृति अनुसार यो व्यावहारिक पनि देखिन्छ। खेतीकिसानी गर्नेले पनि आठ-नौ बजेसम्ममा घरगोठको काम सकेर मेलापात जाने तयारी गर्नुपर्छ। विद्यालय वा कार्यालय जानेहरूलाई पनि सबेरै उठ्दा आफ्नो घरायसी काम सकेर सहजतापूर्वक काममा जान बाटो खुल्छ।

योग पूर्वीय दर्शनअन्तर्गतका ६ वटा आस्तिक दर्शनहरू (षड्दर्शन) मध्ये एक हो। योग आठ प्रकारका हुन्छन् जसलाई अष्टाङ्गयोग भनिन्छ। पतञ्जलि मुनिद्वारा प्रतिपादित यस दर्शनले मानिसको मन, शरीर र आत्माको एकतामा जोड दिन्छ। यसको मुख्य उद्देश्य आत्मशुद्धि, नियन्त्रण र मोक्ष प्राप्ति मानिन्छ।

दिनभरि आ-आफ्नो काममा घोटिएर बेलुका घर फिरेपछि शरीर र मन दुवै थकित भएका हुन्छन्। तिनले आराम खोजिरहेका हुन्छन् तर पकाएर-बनाएर खानु त पर्यो नै। यति भएपछि ज्यानले ओछ्यान खोज्यो भने त्यसलाई अन्यथा मान्ने कुरा पनि भएन। यसरी चाँडै सुतेपछि ब्रह्ममुहूर्तसम्ममा त सात-आठ घण्टा निदाएर बिउँझिने समयसमेत भइसकेको हुन्छ। यसरी हाम्रो परम्परागत जीवनशैलीमा चाँडै सुत्ने र सबेरै उठ्ने कुरा व्यावहारिक तथा वैज्ञानिक लाग्छ। सफल जीवनका लागि सबेरै उठ्नु नै बुद्धिमानी हो जस्तो देखिन्छ।

उसो भए के सफल जीवनको राज सबेरै उठ्नु हो त? यसमा पूर्वीय दर्शन, खासगरी योग तथा आयुर्वेद र विज्ञान वा आधुनिक वैज्ञानिक अनुसन्धानबाट प्राप्त निष्कर्षबीच केही समानता र केही फरकपन देखिन्छ। बिहान सखारैदेखि दिनभर सक्रिय रहने र रात पर्दै गएपछि सक्रिय हुने दुई भिन्न पक्षीलाई प्रतीक बनाएर अङ्ग्रेजीमा सबेरै उठ्नेलाई ‘मर्निङ लार्क’ र ढिलोगरी उठ्नेलाई ‘नाइट आउल’ पनि भन्ने गरिन्छ। मर्निङ लार्क सबै प्रसिद्ध वा सफल भएका छन् भन्नु तथ्यपरक होइन, न त नाइट आउल सबै असफल भएका छन् भन्नु नै वस्तुपरक हुन्छ।

विज्ञानले मूलतः सफलता र सबेरै उठ्ने बानीबीच सम्बन्ध छ तर सबेरै उठ्ने बानीकै कारणले कसैलाई सफलता मिल्यो वा मिल्छ भन्न सकिँदैन भन्छ। विज्ञानले सुत्ने वा उठ्ने समयलाई भन्दा गुणस्तरीय निन्द्रामा जोड दिन्छ। सामान्यतया सातदेखि आठ घण्टाको राम्रोसँग परेको निन्द्रालाई गुणस्तरीय मानिन्छ। नियमित समयमै सुत्ने-उठ्ने बानी र पर्याप्त निन्द्रा उठ्ने समयभन्दा बढी महत्त्वपूर्ण हुन्छ। अर्थात्, चाँडै सुते सबेरै उठ्ने र ढिला सुते अबेर उठ्ने गरेर भए पनि सात-आठ घण्टाको निन्द्रा भने पुर्याउनै पर्छ।

आधुनिक विज्ञानका अनुसार मानव शरीरमा एउटा जैविक घडी (सर्केडियन रिदम) हुन्छ जसले मानिसको निन्द्रा, हर्मोन, तापक्रम, पाचन र मस्तिष्कको सक्रियतालाई नियन्त्रित र व्यवस्थित गर्छ। यो प्रवृत्ति जन्मजात हुन्छ। त्यसैले सबै मानिसलाई बिहान एउटै समयमा उठ्न आग्रह गर्ने कुरालाई वैज्ञानिक रूपमा उचित मानिँदैन किनभने व्यक्तिको प्राकृतिक क्रोनोटाइप फरक-फरक हुन्छ। क्रोनोटाइप भनेको कुन समयमा कसको शरीर स्वाभाविक रूपमा सुत्न, उठ्न र धेरै सक्रिय हुन चाहन्छ भन्ने जैविक प्रवृत्ति हो। यो पनि जन्मजात निर्धारित भएको हुन्छ।

हाम्रो समाजमा कसैकसैलाई अल्छी वा लोसे मानिन्छ, तिनको काम गराइ पनि त्यस्तै हुन्छ। यसो हुनुका पछाडि निन्द्रा त कारण होइन? ढिलो सुत्ने र ढिलो उठ्ने आनुवंशिक गुण भएकालाई छिटो उठ्नुपर्ने अनुशासन लादिँदा त्यस्तो भएको त होइन? यो एउटा अध्ययनकै विषय हुन सक्ला।

यो दुनियाँमा सबेरै उठ्ने र अबेर उठ्नेमध्ये कसको सङ्ख्या धेरै होला? सबेरै उठ्ने नै धेरै हुनुपर्ने भन्ने सोच्दै हुनुहुन्छ भने सही हुनुहुन्छ। अध्ययनहरूले देखाए अनुसार करिब ४० प्रतिशत मानिस सखारै उठ्ने गर्छन् भने ३० प्रतिशत ढिलोगरी उठ्छन्। बाँकी यी दुईको बीचतिर पर्छन्। समाजमा प्रायः छिटो उठ्नेलाई नै प्रशंसा गरिन्छ।

यहाँनेर प्रश्न उठ्न सक्छ, ढिलो उठ्नेहरूलाई छिटो उठ्ने पार्न सकिँदैन? उत्तर सरल छ- सकिँदैन, किनभने उनीहरूको क्रोनोटाइप नै त्यस्तै हुन्छ। अँ, उमेरले भने यसमा फरक ल्याउन सक्छ। जस्तै, बालबालिका चाँडै ब्युँझने गर्छन् भने किशोर-किशोरी अबेरसम्म सुत्न चाहन्छन्। तर पाका मानिस बिहान सखारै उठ्ने गर्छन्। उमेरको वृद्धिसँगै चाहिँ क्रोनोटाइपले आफूलाई परिवर्तन गर्ने रहस्य अध्ययनहरूमा खुलेको छ।

त्यसैले टुङ्ग्याउनीमा के भन्न सकिन्छ भने बिहान सबेरै उठ्नु धेरै दृष्टिबाट राम्रो र स्वस्थकर हो। यसलाई विज्ञानले पनि स्वीकारेको छ। तर यही अनुशासन सबैमा लागू हुनुपर्छ भन्ने कुराचाहिँ ठीक होइन किनभने वैज्ञानिक दृष्टिबाट सबैको जैविक घडी एकनासको हुँदैन। त्यस्तै मानिसले गर्ने व्यवसाय, कामको प्रकृति र कार्यतालिका पनि एकनासे हुँदैन।

मुख्य कुरा गुणस्तरीय निन्द्रा हो जसले मानिसलाई स्वस्थ, फुर्तिलो, तनावमुक्त र उच्च मनोबलयुक्त रहन सहयोग गर्छ। त्यसैले बेलुकी ढिलो सुतेका कारण बिहान सखारै उठ्न नसक्नेले चिन्ता लिनुपर्दैन। गुणस्तरीय निन्द्रा लिन सकियो भने स्वस्थ जीवनका लागि मनग्गे हुन्छ। यसो भनेर बेलुका पनि चाँडै सुत्नेले बिहान उठ्न अल्छी गर्न थाले भनेचाहिँ ओछ्यानमै चिसो पानी खन्याइदिए फरक पर्दैन।

हाम्रो समाजमा छिट्टै उठ्ने प्रवृत्तिलाई राम्रो मानिन्छ। त्यसले गर्दा ढिलो उठ्नेले खप्की खाने सम्भावना हुन्छ। तर यसो गर्नु राम्रो होइन। सुत्ने र उठ्ने समय निर्धारण आनुवंशिक हो। बरु परिवारमा कामको बाँडफाँड मिलाएर यी दुवै स्वभावकालाई खुसी रहन दिनु बुद्धिमानी हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *