राजनीतिमा स्पोर्ट्सपर्सनसिप
मानिस कतिसम्म मनोगत वा आत्मपरक हुन सक्छ ? तिनले सार्वजनिक रूपमा बोलेका भ्रमपूर्ण वा तथ्यहीन कुरा सुनेपछि पलाएको जिज्ञासा हो यो। यस्ता मनगढन्ते कथा रच्नेहरूको सूची बनाउँदा लामै हुन्छ। तीमध्ये केही प्रतिनिधि प्रसङ्गको चर्चा गरौँ।
एउटा कार्यक्रममा सीपी मैनाली भन्दै थिए, “असारको ६ गते संयुक्त सरकारले एसपीपी (अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम) अस्वीकार गर्ने निर्णय गरेको भोलिपल्टै रास्वपा जन्माइयो। पुराना मित्रले काम नकाट्ने भएपछि नयाँ साथी तयार गरियो।” भाषा तलमाथि भयो होला तर उनको आशय यही थियो। उनले उपर्युक्त कुरा यसरी भने, त्यसमा शङ्का गर्ने सानो मात्रै पनि ठाउँ छैन। मानौँ उनी अन्तर्यामी हुन्, सबैका अन्तःकरणका कुरा देख्ने र जान्ने।
मैनालीजी राजनीतिको धेरै ज्ञान र अनुभव राख्ने मानिस हुन् भन्ने लाग्थ्यो तर उनका उपरोक्त कुरा सुनेपछि उनीप्रतिको मेरो धारणा फुलाएको बेलुनमा सियो रोप्दा त्यसमा भएको हावा हराए जसरी पङ्क्चर भयो। उनको आरोप या आशय सही होला तर किटान गरेको समय तालिकाले उनको कथनलाई समर्थन गर्दैन। आफूले अराए खटाएको खुरुखुरु मान्ने मित्र एकाएक बटारिन पनि सक्छ भनेर त्यसको विकल्पलाई ‘स्ट्यान्डबाइ’ राख्ने कुरा सिद्धान्ततः सही होला तर व्यवहारमा त्यो कत्तिको सहज कुरा हो ? आजको भोलि त्यसो गर्न सकिन्छ ?
हुन त, षड्यन्त्रको सिद्धान्तका नेपाली गुरुहरू कतिसम्म हिसाब राखेको देखाउँछन् भने भदौ २४ मा कुन ठाउँमा आगो लगाउँदा प्रयोग भएको अति उच्च ज्वलनशील पदार्थ कत्रो सिसीमा कसले कहाँदेखि आफ्नो काखीमा च्यापेर ल्याएको थियो भन्ने समेत खुटकाखुट बयान गर्छन्। उनीहरूका अनुसार २३ गते लगभग २ बजेपछिबाटै ती ‘इन्डो-पश्चिमा’ का एजेन्टहरूले युवा विद्यार्थीको प्रदर्शनलाई ‘हाइज्याक’ गरेर विध्वंसको कमान्ड समालिसकेका थिए।
दरबार हत्याकाण्डका बारेमा अर्का एक नेता भन्छन्, “मानौँ अरू कुरा भयो रे तर दीपेन्द्रको लास छेउको पोखरीमा एउटा ओभानो क्याप तैरिरहेको भेटिन्छ। रातभरि पानी परेको छ अनि बेलुकै गोली लागेर मरेका दीपेन्द्रले लगाउने गरेको भनिएको पोखरीमा तैरिरहेको क्याप चाहिँ ओभानै छ।” उनको कुरा सुन्दा लाग्छ, पोखरीबाट त्यो क्याप उनी स्वयंले टिपेका थिए।
गत निर्वाचनमा झापा ५ नपुगेका चर्चित पत्रकार विरलै होलान्। त्यहाँको एउटा पालिकाको बजार क्षेत्रमा पुगेर एक पत्रकारले राखेको जिज्ञासामा सांसद भइसकेका एमालेका एक स्थानीय नेता भन्छन्, “केपी ओली हार्नुहुन्छ भन्ने कल्पना समेत गर्न सकिँदैन।” उनको कुरा सही हो, उनलाई चुनावको परिणाम नआउन्जेल त्यस्तै लागेको थियो तर परिणामले देखायो परिस्थिति त त्यस्तो थिएन। अनि परिणाम आएपछि पनि ‘यदि… तर…’ भन्न थाले भने के भन्ने ?
निर्वाचनको परिणाम आइसकेपछि पनि धेरै नेताका कुरा परिणाम स्वीकार्ने खालका थिएनन् र छैनन्। एक पूर्व सांसद (साउद, उनी मन्त्री समेत भएका थिए) भन्दै थिए, “निर्वाचनमा धाँधली भएको छ, मतपत्रको ल्याब टेस्ट गरिनुपर्छ।” उनको बुझाइमा प्रयोग भएको मतपत्रको ल्याब टेस्ट गर्दा मतदाताले पहिले कुन चिह्नमा छाप हानेको थियो भन्ने असली कुरा निस्कन्छ होला। यस्तो वैज्ञानिक रहस्य उनीबाहेक अरूले जान्ने कुरा पनि भएन।
वास्तवमा पुराना भनिने दलका अधिकांश नेता कार्यकर्ता गत संसदीय निर्वाचन निष्पक्ष भएको थियो भन्ने मान्न तयार छैनन्। मनमा एकथोक भए पनि सार्वजनिक खपतका लागि अन्यथा भनेका हुन् भने उनै जानून् तर बाहिर उनीहरू निर्वाचनमा षड्यन्त्र भएकै ठोकुवा गर्छन्। यद्यपि कतैबाट पनि निर्वाचनमा धाँधली भएको भनेर सप्रमाण कसैले पनि निर्वाचन आयोगमा निवेदन दिएको सार्वजनिक भए जस्तो लाग्दैन। केही स्थानलाई छाडेर रास्वपाका उम्मेदवारले पाएको मत दोस्रो हुनेको भन्दा धेरै बढी देखिन्थ्यो।
अरू त भयो भयो, केही नेता त मतदातालाई समेत लाञ्छित गर्न पछि परेनन्। तिनलाई हुस्सुदेखि मानिसको दिसा खानेसम्मको दोषारोपण गरे, गर्दै छन्। अरू कुरा त्यस्तै उस्तै भए पनि मतदातालाई नै अपमानित गर्ने तिनको व्यहोरा हेर्दा हार्नै पर्ने भएकाले नै हारेका हुन् भनेर खुचिङ नै गरौँ जस्तो लाग्छ।
गत निर्वाचनमा रास्वपाले त्यस्तो बहुमत कसरी ल्याउन सक्यो वा मतदाताले किन उनीहरूलाई त्यसरी मत खन्याए भनेर केलाउँदा एउटा कुरा सहजै भन्न सकिन्छ, मतदाता पुराना दलसँग असन्तुष्ट रहेछन्। यस्तो असन्तुष्टिको कारण के हो त ? यसको उत्तर एउटा नहुन सक्छ। केही नेताले भने जस्तो सामाजिक सञ्जाल र एल्गोरिदम मात्रैले पुराना दलका प्रति तिनका मनमा असन्तुष्टि भरिदिन सकेको त अवश्यै होइन।
अहिले आएर तिनीहरूमध्येकै एकथरी भन्न थालेका छन्, “यो सरकार लामो समय टिक्दैन। बालेन र रविबिचमा मतभेद जन्मिसकेको छ, त्यो विस्फोट हुन मात्र बाँकी हो।” यो कुरा ती दुई भाइका कानसम्म पनि पुगेको होला र नै रास्वपाको पहिलो महाधिवेशनमा एकताको कुरा उनीहरूले निकै गरेको सुनियो। रविले भने, “मेरो खुट्टामा आएको बल म बालेनलाई पास गर्छु, गोल गर्ने उनैले हो।”
२०५६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि हालसम्म आउँदा नेपालमा १८ जना प्रधानमन्त्री भएछन्। १८ त व्यक्ति नै, तीमध्ये कोही कोही त दुईदेखि पाँच पटकसम्म दोहोरिए। बिचमा ज्ञानेन्द्र पनि धुरा पसे। त्यो दोहोरिएको कुरा जोड्दा औसतमा एउटा सरकारको कार्यकाल एक वर्ष र एकाध महिना मात्रै भएछ। अर्थात् हाम्रा राजनीतिक समस्यामध्येको एउटा चाहिँ सरकार र शासनमा अस्थिरता रहेछ।
त्यसैले अहिलेको सरकार पनि धेरै टिक्दैन भनेर हुइयाँ मच्चाउनु भनेको अस्थिरताको गीत गाएर आम जनतालाई त्रसित गर्नु हो। सुन्दा अलिक शिष्टाचारयुक्त भएन कि जस्तो लागे पनि रास्वपाको महाधिवेशनमा आफ्ना पाहुनाहरूले अस्थिरतातर्फ गरेको इशारालाई बालेनले ठाडै अस्वीकार गरिदिए, गाडीको विम्ब बनाएर। ठीक छ, गाडी गन्तव्य पुगेर मात्रै रोकियोस् तर बाटोबाटोमै लेन क्रस गर्ने काम चाहिँ नहोस्। यो चाहिँ प्रधानमन्त्रीलाई शुभकामनाका साथै खबरदारी।
रास्वपाको प्रथम महाधिवेशनमा आमन्त्रित पुराना ठुला दलका अध्यक्षमध्ये कांग्रेसका गगन थापा मात्रै चितवन पुगे। कांग्रेस जस्तो राजनीतिक विरासत भएको पार्टीको अध्यक्ष त्यहाँ पुग्नु अनौठो हुँदै होइन। उनले शुभकामना मन्तव्य दिने क्रममा गरेको उच्चस्तरको राजनीतिक भाषणले नेपाली राजनीतिलाई ऊर्जा दिएको छ।
गगनका कुरा सुन्दा लाग्छ उनले समग्र परिस्थितिलाई वस्तुगत रूपमा मनन गरेका छन्, मनोगत रूपमा होइन। गत निर्वाचनमा आफूहरू पराजित भएको वा ठुलो सङ्ख्यामा मतदाताले आफूहरूलाई अस्वीकृत गरेको तथ्यलाई खुला दिलले स्वीकारेका छन्। अस्वीकृत गर्नाको कारण पनि उनले खुलाए। संक्षेपमा भन्दा त्यो कारण थियो आफूहरूले बाटो बिराउनु। उनले यो पनि थपे, “बिराएको बाटो छाडेर हामी सही बाटोमा फर्कियौँ पनि तर अलिक ढिला भयो। त्यसैले हामी पुनः उठ्छौँ, पुनः अग्लिन्छौँ तर सत्तापक्षलाई होच्याएर होइन आफ्नै कर्मले अग्लो भएर।”
गगनकै शब्दमा, “एउटा, राजनीतिक दलले जनमत प्राप्त गरेपछि ती राजनीतिक दलका नेताहरूको अहङ्कारका बीचमा टकराव भयो, व्यक्ति-व्यक्तिबीच टकराव भयो र त्यसैका कारण दुर्घटना भयो। अर्को कुरा, जनमत प्राप्त गरिसकेपछि के बुझियो भने यो जनमतले मलाई शक्ति दियो, तर शक्तिको पनि सीमा हुन्छ भनेर बुझिएन। त्यो शक्तिले हामीलाई सत्ताको उन्मादमा चढायो र त्यसले हामी अलोकतान्त्रिक व्यवहार गर्न थाल्यौँ, जसका कारण जनमत दुर्घटनामा पर्यो। म कामना गर्दछु, राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो अवस्थाको सामना गर्नु नपरोस्। म यो शुभेच्छा व्यक्त गर्दछु।”
“तपाईंहरूलाई लाग्न सक्छ, कांग्रेसको एउटा सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना किन दिँदैछ ? यसका दुई कारण छन्। पहिलो कारण, इतिहासले यो पनि बताएको छ, जुन जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन्, त्यो बेला पहिलो सिकार ती पार्टी मात्र भएनन्। सँगै रहेका अरू पार्टी पनि सिकार भए। उनीहरूसँगै सिङ्गो प्रणाली सिकार बन्यो, डेमोक्रेसी सिकार बन्यो, र सबैभन्दा बढी नेपाली नागरिक सिकार बने। हाम्रा अधिकार कुण्ठित भए, हाम्रा वर्षौँ खेर गए र जेनेरेसन टु जेनेरेसन हामीले असफलता भोग्यौँ। अब नेपालमा त्यस्तो नहोस् र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताको निम्ति सही ढङ्गले अघि बढाेस् भन्ने नेपाली कांग्रेस पार्टीको तर्फबाट म मनैदेखि शुभकामना व्यक्त गर्छु।”
“दोस्रो कारण, नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं। तपाईंहरूको अग्लाइ देखेर हामीलाई लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं, बन्छौं पनि एकदिन, तर तपाईंहरूलाई सानो बनाएर होइन। तपाईंहरूको खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारपूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौं।”
आशा गरौँ कांग्रेसका सबै तहका नेता कार्यकर्ता आफ्ना पूर्वाग्रह, पराभव मानसिकता र पराजयको कुण्ठा त्यागेर उच्च मनोबलका साथ प्रतिपक्षले निर्वाह गर्ने भूमिकालाई लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप अगाडि बढाउँदै जनताको घरदैलो पुगेर तिनको मन जित्दै आफ्नो सङ्गठन पुनः सबल, सक्षम र चुस्त दुरुस्त बनाउन सफल हुनेछन्। सभापति थापाको राजनीतिक स्पोर्ट्सपर्सनसिपलाई सबै सदस्यले अनुसरण र अनुपालन गर्नेछन्।
