मेरो सपनाका मदन कमरेड

-सुनिलराज उप्रेती

सधैँ वार्षिक तिथिमा मदन कमरेड सपनामा आउँथे। यसपालि जेठ ३ गते उनी आएनन्। जेठ ४ गते आउलान् भनेको, त्यो रात पनि आएनन्। मलाई नियास्रो लाग्न थाल्यो। सपनामै भए पनि वर्षमा एक पटक भेट हुने सच्चा नेता थिए। उनलाई देख्न नपाउँदा दुःख लाग्नु स्वाभाविकै हो।

तर हिजो अचानक मदन कमरेड आइपुगे। उनी सर्रर साइकल चढेर आएका थिए। अभिवादन गरेपछि उनले सोधे, “सुनिलजी के छ देशको हालखबर?”

मैले जवाफ दिनुअघि नै सोधेँ, “यसपालि किन ढिलो कमरेड?” मदन कमरेड दार्चुलाको बाटो हुँदै मानसरोवर गएका रहेछन्। लिपुलेक जाँदा उनी चकित परे। त्यहाँ नेपालको भूमिमा भारतले सडक बनाएको देखेछन्। भारतले नेपालको भूमिलाई आफ्नो दाबी गर्दै मानसरोवर जाने चाँजो मिलाएको पनि देखेछन्। भारतको यो हेपाहा प्रवृत्ति देखेर उनी दुखी थिए! महाकाली सन्धि गर्दा एमालेका नेताहरू चुकेको उनले सम्झिए। बिरामी मनमोहन कमरेडको तर्फबाट देवराज घिमिरेले सन्धिको पक्षमा मत दिएका थिए। उनकै मतले बहुमत पुगेको थियो एमालेमा। भारतले उनलाई पुरस्कृत गर्यो। पछि उनी सभामुख बने। यो सम्झिएर कमरेडको मुहार अमिलो भयो।

मदन कमरेड एकछिन चुपचाप बसे। मौनता चिर्न मैले भनेँ, “कमरेड, त्यसरी चिन्ता लिनु पर्दैन नि।” त्यसपछि उनले देश भित्रको वैदेशिक घुसपैठबारे कुरा गरे। मेरो चासो देखेपछि उनले थप कुरा खुलाए।

उनले भने- २०४७ सालको संविधान भारतलाई मन परेको थिएन। त्यसमा प्राकृतिक स्रोतको सम्झौताका लागि दुईतिहाइ चाहिन्थ्यो। नागरिकताको प्रावधान पनि कडा थियो। नेपालको राजसंस्था राष्ट्रवादी थियो। त्यसैले भारतले यहाँ ‘माइक्रो म्यानेजमेन्ट’ गर्न पाएको थिएन। यो संविधान लागू भएको पाँच वर्षमै भारतले नयाँ चाल चल्यो। उसले नेता सीपी मैनालीलाई गणतन्त्रका लागि हतियार र सहयोगको प्रस्ताव गर्यो। तर सीपीले अस्वीकार गरे। उनले भारतलाई भनेछन्, “राजसंस्थासहितको प्रजातन्त्र नेपालको भूगोलको आवश्यकता हो। राजसंस्थाबिना सार्क क्षेत्रकै सन्तुलन गुम्छ। हामीबाट यो असम्भव छ।”

त्यसपछि भारतले प्रचण्ड र डा. बाबुराम भट्टराईकहाँ प्रस्ताव लग्यो। उनीहरू सहमत भए। अनि उनीहरूको आन्दोलनलाई ‘माओवादी जनयुद्ध’ नाम दिइयो। नेपालको धर्म, संस्कृति र परम्परा भत्काउने योजना बन्यो। २०४७ सालको संविधान असफल बनाउने विदेशी ‘रोडम्याप’ थियो। माओवादीले त्यही अनुसार द्वन्द्व सुरु गर्यो। यो कुरा अब छर्लङ्गै भयो नि, होइन र? कमरेडले मलाई प्रश्न गरे।

कमरेडले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारको प्रसङ्ग पनि कोट्याए। प्रधानमन्त्रीले राष्ट्रपतिलाई हप्तामा दुई पटक ब्रिफिङ गर्ने परम्परा थियो। देशको सुरक्षाबारे गरिने यो ब्रिफिङ अहिले तोडिएको सुनिन्छ। यसपटक बजेटमा राष्ट्रपति कार्यालयको खर्च पनि कटौती गरियो। यसले सरकार र राष्ट्रपतिबीचको सम्बन्ध चिसो भएको बुझिन्छ।

त्यसपछि उनले दलाई लामाको प्रसङ्ग निकाले। दलाई लामाका वरिष्ठ सदस्य ताई सितुपा रिन्पोछे नेपाल आएका छन्। उनी बौद्धमा विश्व शान्तिको पूजा गर्दैछन्। बौद्धमा लामाहरूले उनको भव्य स्वागत गरे। उनी विगत १५ दिनदेखि नेपालका विभिन्न गुम्बा डुल्दैछन्।

दलाई लामा वृद्ध भइसकेका छन्। ‘अब बन्ने दलाई लामा भारत वा चीनमा जन्मने छैनन्। उनी कुनै अर्को स्वतन्त्र राष्ट्रमा जन्मनेछन्।’ दलाई लामाको यो घोषणाले नेपालतर्फ सङ्केत गर्छ। चीनले यसलाई आफ्नो आन्तरिक मामिला भनेको छ। भारतले यसमा चासो राख्न नहुने चीनको चेतावनी छ। नेपालमै दलाई लामा जन्मिए देश चेपुवामा पर्ने सम्भावना छ। यसले मदन कमरेड चिन्तित देखिए।

उनले विश्व राजनीतिको पनि चर्चा गरे। अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमण गरे। बाहिर जस्तो देखिए पनि चीन र अमेरिकाको सम्बन्ध बलियो छ। उनीहरूबीच दीर्घकालीन व्यापारिक र कूटनीतिक सम्बन्ध छ। यसको असर भारतमा पर्न सक्छ।

अहिले भारतको छिमेकीहरूसँगको सम्बन्ध राम्रो छैन। पहिले नेपालसँग राम्रो सम्बन्ध थियो। तर २०६३ पछि यो सम्बन्ध पातलिँदै गयो। अहिले त भारतले नेपाली चिया किन्न समेत आनाकानी गर्छ। भारत देश ठूलो छ, तर चित्त कुखुराको जस्तो सानो देखिन्छ। यसले भारतकै हित गर्दैन। मदन कमरेड भन्दै गए, म सुनिरहेँ।

कमरेडले २०८२ साल भदौ २३ र २४ गतेको घटनाबारे धारणा सुनाए। ‘सुनिलजी, एक कप कालो चिया थपौँ कि? उनले सोधे। चियाको तलतल देखेपछि मैले अर्डर गरेँ।

उनले अगाडि भने- २०४६ सालको परिवर्तनपछि कांग्रेस र एमालेले जनतालाई धोका दिए। उनीहरूले आफ्ना कार्यकर्तालाई मात्र अवसर दिए। २०६३ पछि यो झन् विकराल बन्यो। युवाहरूले सरकारको ज्यादती सहन सकेनन्। भारत ओली सरकारसँग खुसी थिएन। उसले अनुकूल समय पर्खेर बसेको थियो। सिंहदरबार आगजनी हुँदा भारतीय नागरिकको उपस्थिति देखियो। भारतले यसलाई अवसरका रूपमा प्रयोग गरेको पुष्टि हुन्छ।

सिंहदरबार र सर्वोच्च अदालत जलिरहँदा सेना ब्यारेकभित्रै बस्न बाध्य भयो। सरकारले सेना परिचालनको निर्देशन दिएन। तात्कालिन सरकारको यो असक्षमतालाई नेपालीले कालो दिनका रूपमा सम्झनेछन्। अहिले न्यायालयमा पनि राजनीतिकरण भएको छ। ‘कुन न्यायाधीश कुन दलको हो’ भनी अनामनगरको चिया पसलमा कुरा चल्छ। जनताले न्यायालयप्रति अविश्वास गर्न थालेका छन्। न्यायालयलाई विश्वासिलो बनाउन ठूलो शल्यक्रिया आवश्यक छ। युवा प्रधानमन्त्री बालेन्द्र कत्तिको सफल होलान्, त्यो हेर्न बाँकी छ। तर कर्मचारीले युनियन खोल्न बन्द गरेपछि अदालत सही बाटोमा जाँदैछ कि जस्तो लाग्छ। राष्ट्रसेवकले राजनीति गर्नु हुँदैन। उनीहरू स्थायी सरकार हुन्।

मदन कमरेड मानसरोबर जाने क्रममा सुदूरपश्चिममा बास बसेका रहेछन्। त्यहाँको चिया पसलमा केन्द्रबाट सुदूरपश्चिमको अनुगमनमा गएका एक ठूला न्यायाधीशले ७९ हजारको रक्सी खाएको कुरा वकिलहरूकै मुखबाट सुनेछन्। ठूला न्यायाधीशलाई साँझपख रमझम गर्न उच्चकोटीको ब्ल्याक लेबल पेश गरिएछ तर उनले त्यस्तो रक्सी नचल्ने ‘ब्लु लेबल’ चाहिने भनिएछ। बल्लबल्ल व्यवस्था त भएछ तर त्यस्तो अतिथि सत्कारमा खर्च भएको ७९ हजार रूपैयाँ कसले व्यहोर्ने भन्नेमा विवाद भएछ। अनि यो कुरा प्रधानमन्त्रीको कार्यालयसम्म पुगेछ। अनि त मदन कमरेड भन्दै थिए, ‘अब त न्यायाधीश पनि क्याडरबाट बनाउने हो की सुनिलजी।’

आफूले थाहा नपाएका यस्ता कुरा सुनेर म त छक्क परे!

नेपालका वामपन्थीहरू माओका अनुयायी भन्छन्। तर आफ्ना अग्रज माओ पैसा छुँदैनथे। उनी लेखक र कवि थिए। आफ्ना कृतिको रोयल्टी उनी गरिबहरूलाई बाँड्थे। त्यसको एक अंश चाहिँ माओलाई पहिलो पटक सम्भोग गराउने एक महिलाकोमा पनि जान्थ्यो अमेरिकाबाट प्रकाशित माओका व्यक्तिगत चिकित्सक ‘डा. लि’ ले सन् १९९४ मा प्रकाशित पुस्तक ‘दि प्राइभेट लाईफ अफ माओ’ लेखेका छन्। तर नेपालका अनुयायीहरूमा पैसाको ठूलो मोह छ। भदौको युवा आन्दोलनमा नेताका घरको अथाह पैसा डढ्यो भनिन्छ। कमरेड मदनले मलाई सोधे, ‘हैन त सुनिलजी?’ नेपालका कम्युनिष्टले माओको नाम लिए पनि आचरण पछ्याएनन्। त्यसैले उनले माओलाई धेरै सम्झिए।

उनले पुरानो प्रसङ्ग पनि निकाले। पहिले राजा र नेताहरूबीच राम्रो हार्दिकता थियो। तर विदेशी दाताहरूले नेपालीलाई जात र धर्मका आधारमा बाँडे। यसमा कम्युनिष्टहरू धेरै प्रयोग भए।२०३२/३३ सालतिर शिक्षा सहायक मन्त्री हिरालाल विश्वकर्मा बागलुङ गएका थिए। उनी दलित भएकाले एक बाहुन न्यायाधीशले खाना खान मानेनन्। विश्वकर्माले राजासँग चित्त दुखाए। राजाले मुस्कुराउँदै भने, “ती बाहुन वैष्णवी हुन्, अरूले पकाएको खाँदैनन्।” राजाले उनको चित्त शान्त पारे। राजाको सबैसँग राम्रो सम्बन्ध थियो। बेलायतमा राजाको ‘गार्ड चेन्ज’ हेर्न पर्यटकको भीड लाग्छ। दरबारको परेडबाटै त्यहाँ ठूलो आम्दानी हुन्छ। हाम्रो पहिचान भने विदेशीले सिध्याइदिए।

अन्त्यमा उनले चीनमा नियुक्त भएका भारतीय राजदूत विक्रम दोराईस्वामीको चर्चा गरे। उनी नियुक्त भएको एक महिनामै ल्हासा पुगे। यो कैलाश यात्राको तयारीका लागि मात्र थिएन भन्ने बुझ्न कठिन छैन। उनलाई त्यहाँ, हात्तीमाथि खरायो, त्यसमाथि चरा र चरामाथि फल टिप्दै गरेको बाँदरको चित्र भएको थाङ्का उपहार दिइयो। त्यो चित्रको अर्थ हामी मिलेर फल खाउँ, विवाद नगरौँ भन्ने अर्थ लाग्दो रहेछ। त्यसपछि बल्ल मलाई बडामहाराजाधिराजको ‘दुई ढुङ्गा बीचको तरूल’ हो हाम्रो देश भन्ने दिव्य उपदेशको अर्थ थाहा भयो। चिनियाँहरुको कुटनीति बुझ्नेहरुको भनाईमा उनीहरु असाध्यै सफ्ट कुटनीति हुन्छ। कसैको आन्तरिक मामिलामा हत्तपत्त हस्तक्षेप मन पराउँदैनन् पनि।

कुरा सुन्दासुन्दै म झल्यास्स ब्युझिएँ। कमरेड अलप भए।

भावपूर्ण श्रद्धाञ्जली कमरेड!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *