पोखरेली रङको सौन्दर्य

गोपाल श्रेष्ठ, पोखराको कलाक्षेत्रमा अडिग, मनमा नदीझैँ शान्त बहिरहेका एक कलाकार! नामसँगै उनको अनुकरणीय जीवनले हामीलाई प्रोत्साहन दिन्छ; कलाले मात्र होइन, अध्यात्मले पनि उनको रङ छोपेको छ। ओशो संन्यास ग्रहणपश्चात् ‘स्वामी गोपाल भारती’ भन्ने उपनाममा उनी जीवनका सूक्ष्म अनुभूतिहरूलाई कलामार्फत व्यक्त गर्ने व्यक्तित्वका धनी बनेका छन्। २०३६ सालमा पुनाबाट ओशो दीक्षा लिएर उनले जिन्दगीमा शान्ति र प्रेमको एउटा आधार बनाएका छन्। त्यो आधार उनका क्यानभासमा देखिन्छ। ती क्यानभास नै पोखरेली रङको सौन्दर्य हुन्।

उनको जन्म २००५ सालमा महेन्द्रपुल, पोखराको त्यो सानो गल्लीमा भएको हो, जहाँ बाल्यकालका ती चित्ताकर्षक क्षणहरू आज पनि घुम्छन्। बोधमान र लालमायाको घरपरिवारमा हुर्केका गोपालले कलालाई औपचारिक विद्यालयभन्दा बढी आत्मनियमन र स्वाध्यायबाट सिके। त्यही बालसख्यताको उत्सुकता बुबाले नागपञ्चमीमा बनाएको नागको चित्र देखेर आफूले पनि प्रयास गर्न थालेकाले उनलाई सूक्ष्म अवलोकन र चिन्तनमा ढाल्यो। सानो उमेरमा हातमा आएको सीमित सामग्री पेन्सिल र कलमले पनि उनको सिर्जनालाई रोक्न सक्दैनथ्यो; बरु ती सीमितता नै उनको सिर्जनात्मक शक्तिको उत्प्रेरक बन्दै आए।

उनले कलामार्फत बताउने त्यो युग, जब पोखरामा कलासामग्री सहजै उपलब्ध थिएन, आजको सुविधासम्पन्न समयसँग तुलना गर्दा एक प्रकारको सरल र कठोर सौन्दर्य बोकेको देखिन्छ। दाजु खेमनारायणसँगको प्रारम्भिक अभ्यासले उनलाई धैर्य र परिश्रम सिकायो र जब २०२६–०२७ सालमा ललितकला संस्थाको गण्डकी शाखाले जलरङ र तेलरङ जस्ता नयाँ माध्यम उपलब्ध गरायो, तब उनको कलाको संसारले पनि विस्तारित हुने अवसर पायो। त्यो विस्तार मात्र प्रविधि र माध्यमको थिएन; आध्यात्मिक र दृश्यात्मक अनुभूतिले पनि विस्तृत भयो।

जीविकोपार्जनका लागि पढाइसँगै उनले शिक्षण, सरकारी काम र बैङ्कको जागिर पनि सम्हाले। तर उनको कलाले कहिल्यै पर्खिन दिएन। सन् १९७८ (२०३५ साल) पछि खोलिएको ‘गोपाल आर्टस्’ ले उनलाई व्यावसायिक कला र जीवनयापनबिचको संवेदनशील सन्तुलन सिकायो। साइनबोर्ड लेख्दै बितेका ती दुई दशकले उनलाई सहरसँगको नजिकको सम्बन्ध र जनजीवनको दृश्यचित्र उभ्याउन सहयोग गर्‍यो। पछिल्ला दिनमा लेकसाइडको ‘हिज आर्ट ग्यालरी’ र ‘सियात्सु थेरापी सेन्टर’ खोल्नु उनको कलालाई प्रदर्शनीको सीमामा नरोकिने, तर मानिसको हृदय अनि स्वास्थ्यसँग जोडिने रूपमा रूपान्तरण गर्ने चाहनाको प्रमाण हो।

पोखराको कला–रङमा प्रारम्भिक अवस्था निकै चुनौतीपूर्ण थियो– प्रदर्शनी हलको अभाव, सीमित स्रोत, घरका भुइँतल्लाहरू र बालमन्दिरका कक्षहरूमा भएको कला मिलन! तर यिनै अपठ्यारा परिस्थितिले कलाकारहरूलाई थप उत्साहित गराए। गोपालले ती अवस्थालाई बाध्यता होइन, सम्भावनाको स्रोत बनाएर आफ्नो कलालाई जीवन्त राखे र यही जीवन्तताका उनका रचनामा भाव, शान्ति र प्रेमको स्वरूपमा गुथिएको देखिन्छ।

ओशो दर्शनको अनुयायी भएपछि गोपालको कला मात्र रूपान्तरणमा आएन; उनको दृष्टि नै गहिरिएको छ। उनी भन्छन्– ‘अध्यात्म, शान्ति र प्रेम मात्र विषयवस्तु होइनन्, ती मेरो मनका भावनात्मक धुरी हुन्। जहाँ मैले पोखराको प्राकृतिक सौन्दर्यलाई रङको मिठासमा पोखेको छु।’

ती धुरीले उनको कलाकर्ममा विम्ब बनाएर आउँछन् बोध र मौनताको आकृति, प्रेमको उज्यालो, ध्यानको अवकाश आदि। यी सबै उनका रङ र रेखामा जीवन जस्तै सरल तर गहन रूपमा उभिन्छन्। चित्रमा बाहिरी दृश्यभन्दा पनि अन्तरहृदयका बाँचेकै स्वरहरू सुनिन्छन्; त्यसैले उनका रचनाहरूलाई प्रार्थना वा आरतीको प्रतीकात्मक सङ्गीत समान बनाउँछ।

उनको कलाक्रमले सीमालाई चिरेर गाउँ–सहर मात्र होइन, विदेशसम्म पनि पुर्‍याएको छ। २०३० सालमा बागलुङमा दुर्गा बरालसँग गरेको दुई-व्यक्ति प्रदर्शनी र २०६२ सालको पोखरामा ‘सेलिब्रेसन अफ कलर्स’ शीर्षकको एकल प्रदर्शनीले देखायो कि आधुनिक प्रस्तुति र पवित्रताबिच उनको संवाद स्थिर छ। ती चित्रहरूमा धर्म, ध्यान र साधनाका तत्त्वहरू वरदानझैँ रहेको पाइन्छ। उक्त वरदानले कला पारखी दर्शकलाई सोच्न बाध्य बनाउँछ। दक्षिण कोरियामा देखिएकाका उनका चित्रहरूले पनि भाषाभेद र भूगोलभन्दा पर गएर प्रकृति, संस्कृति र मानवीय अनुभूति समेट्ने उनको सामथ्र्य प्रमाणित गरेको तथ्य यहाँ स्मरणीय हुन्छ।

पुरस्कार र सम्मानहरू उनका यात्रा मात्रै होइनन्, समकालीन कला र रङले उनलाई दिएको विश्वास पनि हुन्। २०३४ सालको राष्ट्रिय प्रदर्शनीमा ‘दुरुपयोग’ शीर्षकले पाएको सान्त्वना पुरस्कारले सामाजिक संवेदनशीलता र आलोचनात्मक दृष्टिकोण दुवै देखायो। २०५७ सालको ‘ललितकला पुरस्कार’ उनले पाउनु भनेको स्थानीय कला जगत्‌ले उनको योगदानलाई मान्यता दिएको अभिव्यक्ति हो। तर गोपाल स्वयंको नजरमा पुरस्कारभन्दा पनि महत्त्वपूर्ण कुरा कलामार्फत मान्छेको मन–मन्दिरमा सुखद परिवर्तन ल्याउनु हो।

सिर्जनशीलता मात्र व्यक्तिको सम्पत्ति होइन, समुदायको साझा धरोहर हो भन्ने बोधबाट उनले संस्थागत काममा पनि सक्रिय भूमिका निर्वाह गरेका छन्। सिर्जनशील कलाकार समूह, कास्कीका संस्थापक सदस्यदेखि ओशो इनर कनेक्सन तथा सिर्जनात्मक सङ्घ–संस्थाहरूमा उनको संलग्नता रहेको छ। यसबाट उनी कलालाई क्यानभासमा मात्रै सीमित राख्न चाहँदैनन्; उनी चाहन्छन्– कलाले समाजको सास फेर्ने ठाउँ बनाउन सकोस्। पोखरेली युवा सांस्कृतिक परिवार र नेपाल कलाकार समाजमा उनको दायित्वले स्थानीय कलाकारहरूलाई ठाउँ र स्वर दिने कामलाई गति दिएको अनुभव हुन्छ।

उनको जीवन र कलाबिचको सम्बन्ध अनिवार्य र पारस्परिक छ। साइनबोर्ड लेख्ने व्यावसायिक वर्षहरूले जीवनका साधारण र व्यावहारिक पक्षलाई सम्हाले, अध्यात्मले रचना र उद्देश्यलाई आकार दिए साथै संस्थागत कामले कलाकारलाई समुदायसँग जोड्यो। यिनै तहका मेलमिलापले गोपाल श्रेष्ठलाई पोखराको एउटा अलगै पहिचान दिए– एक संवेदनशील, प्रतिबद्ध र सांस्कृतिक दृष्टिले समृद्ध कलाकार!

अन्ततः कलामा रङ मात्र होइन, मनको शान्ति र प्रेमलाई पनि देखाउने उनको प्रयत्न सुन्दर लाग्छ। उनको क्यानभासमा उभिएका प्रतीकहरूले हामीलाई प्रश्न सोध्न बाध्य बनाउँछन्। जस्तो कि के हामीले आफ्नो जीवनमा शान्ति र प्रेमलाई पर्याप्त ठाउँ दिएका छौँ? गोपालका चित्रहरूले त्यो प्रश्नलाई अगाडि राखेर उत्तर खोज्न प्रेरित गर्छन्। यही खोज नै उनको सिर्जनाको अन्त्यहीन यात्रा हो, जहाँ प्रत्येक रेखा, हरेक रङ र प्रत्येक खाली स्थानले अध्यात्मको मिठास बोकेर आउँछ। तिनैमा पोखरेली रङको सौन्दर्य दृष्टिगोचर हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *