शिक्षा समिति बैठक आज : पारित होला विधेयक ?

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई अन्तिम टुंगोमा पुर्याउन नसकेको संसदीय समितिको बैठक आज आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

प्रतिनिधिसभाको बैठक असार २३ गते सोमबार र राष्ट्रियसभाको बैठक २४ गतेका लागि निर्धारण भएको छ । त्यसअघि समितिमा महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने गरी छलफलको कार्यसूची तय गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच अस्थायी शिक्षकको स्थायी प्रक्रिया र शिक्षक बढुवा प्रणालीजस्ता मुख्य विषयमा सहमति जुट्न नसक्दा विधेयक समितिमै अड्किएको छ ।

समितिका एक सदस्यका अनुसार केही दिनयता सरकार र महासंघका प्रतिनिधिबीच बाँकी विषयमा सहमति जुटाउन पटकपटक वार्ता र छलफल भइरहेको छ । दुई पक्षबीच सहमति जुटेको अवस्थामा विधेयक तत्कालै पारित गरी संसदमा पेस गर्ने समितिको तयारी छ ।

शिक्षकहरूले सरकारसँग विगतमा भएका सहमतिलाई विधेयकमा अक्षरशः समेट्नुपर्ने अडान राखेका छन् । मन्त्रालय भने विगतमा गरिएको सहमतिअनुसार जान नसकिने भएकाले मध्यमार्गी बाटोबाट निकास खोज्ने प्रयासमा छ । यसैले विधेयक पारित गर्न ढिलाइ भइरहेको छ । सरकारले शिक्षक महासंघसँग असार १५ गतेभित्र विधेयक पारित गर्ने प्रतिबद्धता जनाए पनि त्यो म्याद गुज्रिसकेको छ ।

शिक्षासमिति सहित आज विभिन्न ९ वटा समितिको बैठक बस्ने कार्यसूची छ । अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक, पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ । यस्तै, राष्ट्रियसभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । संयुक्त समितिको रुपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने गरी कार्यसूची निर्धारण भएको छ ।

अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूची छ । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य समितिमा नेपाल सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ । कृषि तथा सहकारी समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना र विविध शीर्षकमा छलफल गर्ने कार्यसूची छ । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । यस्तै, सङ्घीयता सबलीकरण समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठविरुद्ध किन खनिए शिक्षक ?

शिक्षा विधेयक : सहमति पर्खँदै शिक्षा समिति, मन्त्रालय र महासंघ वार्तामा

‘शिक्षा विधेयक हामीले रोकेको होइन’

अस्थायी शिक्षक व्यवस्थापन, मूल्यांकन र ईसीडीको विवाद समाधान कसरी ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *