उपत्यका बन्द कार्यक्रम फिर्ता
काठमाडौं। राजावादीले आज सोमबारका लागि आह्वान गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको जानकारी गराएका हुन्।
आइतबार भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक सिंह लगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रदर्शनमा सरकारले दमन गरेको साथै नेता कार्यकर्ता पक्राउ गरिएको भन्दै बन्द आह्वान गरिएको थियो।
पक्राउ परेकाहरुलाई आइतबारै राति रिहा गरिएको छ। पक्राउ परेकाहरु रिहा भएको अवस्थालाई मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको संयोजक सुवेदीले जनाएका छन्।
यसअघि समितिले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदा नेताहरु थापा, सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै उपत्यका बन्द गर्ने घोषणा गरेको थियो।
राजावादी समूहले काठमाडौंको नारायण चौर क्षेत्रमा प्रदर्शन गरेका थिए। त्यस क्रममा बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता, कार्यकर्ता पक्राउ परेका थिए। प्रहरीले भने निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा रोकिएको जनाएको छ।
राजसंस्था र हिन्दु राज्यको माग गर्दै गत बिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत हुँदै आएको छ। प्रहरीले बल प्रयोग गरी दमन गरेको भन्दै राजावादीले आफ्ना कतिपय कार्यकर्ता घाइते भएको जनाएको छ।
