कमल थापासहित ७ जना रिहा
काठमाडौं । राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित नेता, कार्यकर्ता आइतबार बेलुका रिहा गरिएका छन्।
राजतन्त्र र हिन्दु राज्य माग्दै आन्दोलनरत् राजावादी समूहले काठमाडौंको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए। थापालाई भेट्न जाँदा राप्रपाका सांसद दिपक सिंह पनि पक्राउ परेका थिए।
यसैगरी, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुरका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरुसहित ७ जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए। प्रदर्शनस्थलबाट पक्राउ परेका रौतहटका डा. राजीव झालाई भने प्रहरी नियन्त्रणमै राखिएको छ। उनले मादक पदार्थ सेवन गरेको पाइएकाले मुद्दा चलाउने तयारी गरिएको छ।
