दीपेन्द्रको मनबाट दर्शक-स्रोतासम्म पुगेको ‘तिमी नै छौ यो मनमा’

काठमाडौं। कहिले प्राकृतिक सौन्दर्यको बयान, कहिले मामा–भान्जीको माया अनि कहिले पीडामा परेका चेलीबारे सन्देशमूलक सिर्जना गर्दै आएका दीपेन्द्र अधिकारीले मायामा केन्द्रित भएको गीत सार्वजनिक गरेका छन्।

अधिकारीले प्रस्तुत गरेको नयाँ गीत हो– ‘तिमी नै छौ यो मनमा’। उसो त यो गीतमा मायाकै कुरामात्र छैन, एउटा गतिलो सन्देश पनि बोकेको छ। गीतको म्युजिक भिडियोले यसलाई प्रष्ट्याउँछ। गीतले समग्रमा एउटा सिंगो कथा नै बोकेको छ।

भिडियोमा चौंरी चरनमा प्रेममा परेका दुई गोठालाको एक अर्काप्रति समर्पण भाव र उनीहरूको काल्पनिक संसारलाई प्रस्तुत गरिएको छ। गीतमा उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथा छ।

दुर्गमको असहज अवस्थामा पनि प्रेम जोडी कल्पनाको संसारमा रमाइरहेको देखिन्छ। कहिले कुन रुपमा, कहिले कस्तो भावभंगिमा उनीहरुको कल्पनामा आउने दृश्यहरु हुन्। जस्तोसुकै दृश्यमा पनि एकअर्काप्रति समर्पण भाव भने उच्चकोटिको देखाइएको छ पात्रहरुमा।

अधिकारीका शब्दमा दुर्गा पराजुलीले संगीत भरेका छन् भने अञ्जु पन्त र पराजुलीकै स्वरले सजिएको छ। गीतका लागि राजु कार्कीको म्युजिक एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ। म्युजिक भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ ले निर्देशन गरेका छन्। विभिन्न पर्यटकीय स्थलका मनोरम दृश्य समेटिएको भिडियोलाई भाटले नै सम्पादन गरेर चिटिक्क बनाएका छन्।

गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमिरेको मुख्य अभिनय छ। गीतको सन्देश र मर्मलाई न्याय दिन रसुवा, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका रमणीय स्थानहरूमा छायांकन गरिएको छ।

ती क्षेत्रका दृश्यलाई महेश महराले कलात्मक रुपमा छायाङ्कन गरेका छन्। भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो।

मन छुने शब्दहरु छानीछानी केलाएर गीतको रुप दिने खुबी भएका सर्जक अधिकारी कर्णप्रिय संगीतले शब्दमा जीवन भरेको बताउँछन्। यसैगरी, म्युजिक भिडियोले आफ्नो रचनात्मक भावनाको प्रतिनिधित्व गरेको उनको भनाइ छ।

उनका यसअघि आफ्नो जन्मथलोको सौन्दर्य वर्णन गर्ने ‘मनमोहक पोखरा’, मामाभान्जीको मायामा केन्द्रित ‘चुलबुल चुलबुल’ गीत दर्शक, स्रोतामाझ आइसकेको छ।

यसैगरी,  ‘जीवनको रेल’,  ‘जिन्दगी हो खेल जस्तै’,  ‘फर्किन्छु यसपालि’, ‘सपना सजाइ’ ‘नेपालकी छोरी’ जस्ता विभिन्न सन्दर्भ र मनोभावलाई प्रतिनिधित्व गर्ने गीतहरु पनि उनले ल्याइसकेका छन्।

उसो त, अधिकारी फुर्सदिला भएर गीत संगीत सिर्जनामा लागेका होइनन्। कामको धपेडीकै बीच सिर्जना गर्न मनपराउने उनी समसामयिक विषयमा, देशमा देखिएका विकृतिका विषयमा, राजनीतिक उतारचढावका बारेमा अनि विदेशमा नेपाली समुदायको दुःख सुखका बारेमा आलेखहरु पनि लेखिरहन्छन्।

यी सबै काम उनले आफ्नो व्यस्त व्यावसायिक जीवनकै क्रममा गरिरहेका छन्। अधिकारीले अढाइ दशकभन्दा बढी समयदेखि जापानलाई कर्मथलो बनाएका छन् तर सिर्जनाकै हुटहुटीले नेपाल बाक्लै आउजाउ गरिरहन्छन्। आएको बेला केही न केही नयाँ सिर्जना गरेकै हुन्छन्।

आफ्ना सिर्जनालाई संगीत, परिकल्पना, अभिनयको माध्यमले अझ सजीव बनाउने काममा उनलाई संगीतकार, कलाकारहरुले साथ दिन्छन्। ती सबैको संयोजनमा बनेको प्रस्तुतिलाई दर्शक, स्रोताले पनि उत्तिकै मन पराइदिन्छन्। यही कुराले पनि अधिकारीलाई सिर्जनामा निरन्तर लाग्न प्रेरित गरिरहेको छ।

‘सिर्जना भन्ने कुरा एउटा नशा जस्तै हुँदोरहेछ’ उनी भन्छन्, ‘मनमा फ्याट्ट के फुर्छ, त्यसलाई उतार्यो, परिमार्जन गर्यो अनि आफ्नो मायालु सन्तानजस्तै सिर्जनालाई मूर्त रुप दियो, यस्तै अनुभव छ मेरो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *