पाथीभरा केबलकार विवादः अरुणपूर्वका ९ जिल्लामा यातायात बन्द

विराटनगर । पाथीभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आह्वान गरेको यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ। मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज आइतबार र भोलि सोमबारका लागि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्द आह्वान गरेको हो।

आन्दोलनकारीले झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा यातायात बन्दको आह्वान गरेका हुन्। पूर्वपश्चिम, मेचीलगायत राजमार्ग तथा भित्री सडकमा यात्रुबाहक सवारी साधन चलेका छैनन्। केही स्थानमा साना सवारी साधन चलेका छन्।

यातायातका साधन नचल्दा यात्रुहरू आफ्नो गन्तव्य जान पाएका छैनन्। केही स्थानमा चलेका यातायातका साधनलाई आन्दोलनकारीले रोकेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा बढी छ। अन्य जिलमा बन्दको सामान्य प्रभाव परेको उनले बताए। इटहरीलगायत केही स्थानमा बन्दकर्ताहरु सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन्।

केबलरकार निर्माणको निर्णय खारेजी, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ, प्रदर्शनका क्रममा गोली चलेको घटनाको न्यायिक छानबिन, पाथीभरा जाने बाटोको काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने लगायत माग आन्दोलनकारीको छ।

पाथीभरा क्षेत्रमा केबलबार निर्माणको विरोध गरिरहेका समूह र प्रहरीबीच अघिल्लो शनिबार झडप भएको थियो। काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो।

पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *