भारतको आन्ध्र प्रदेशमा ४०५ करोड भारतीय रुपैयाँको स्वर्ण खानी परियोजना सुरु

हैदराबाद। भारतले व्यसायिक रुपमा सुन खानी परियोजना सुरु गरेको छ। दक्षिण भारतको राज्य आन्ध्र प्रदेश अब भारतको स्वर्ण खजाना थप समृद्ध बनाउने दिशामा अघि बढेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले जुन २४ मा कुरनूल जिल्लाको जोन्नागिरीमा ४०५ करोड भारतीय रुपैयाँ लागतको स्वर्ण उत्खनन तथा प्रशोधन परियोजनाको उद्घाटन गरेका छन्। यससँगै राज्यमा व्यावसायिक स्तरमा सुन उत्पादन सुरु भएको छ।

यो परियोजना सञ्चालनमा आएपछि कर्नाटकको सरकारी हुट्टी गोल्ड माइन्सको लगभग एकाधिकार समाप्त हुने भएको छ, जसले हालसम्म भारतको कुल घरेलु सुन उत्पादनको करिब ९९ प्रतिशत हिस्सा ओगटेको थियो। परियोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री नायडूले भने, “आन्ध्र प्रदेश केवल अन्नपूर्णा मात्र होइन, रत्नगर्भा पनि हो।”

पहिलो चरणमा ६०० एकड क्षेत्रमा उत्खनन

स्वतन्त्र भारतको इतिहासमा निजी क्षेत्रद्वारा सञ्चालित एकमात्र सक्रिय प्राथमिक स्वर्ण खानीका रूपमा चिनिएको जोन्नागिरी परियोजना भारतको खानी क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ।

जियो मैसुर सर्भिसेज इन्डिया प्रालि र डिक्केन गोल्ड माईन्स लिमिटेडद्वारा विकसित यो परियोजनाको पहिलो चरण ६०० एकड जमिनमा सञ्चालन हुनेछ। पछि राज्य सरकारले उपलब्ध गराएको १,५०० एकड क्षेत्रमा यसको विस्तार गरिनेछ।

मुख्यमन्त्री नायडूले उत्पादन इकाइको उद्घाटनसँगै दोस्रो चरणको कामको पनि शुभारम्भ गरे। उत्पादन पुनः सुरु भएको अवसरमा टीडीपी सरकारले जोन्नागिरी गाउँको नाम परिवर्तन गरी स्वर्णगिरि राखेको छ। यसको प्राचीन नाम पनि सुवर्णगिरि नै थियो, जसको अर्थ “सुनको पहाड” हो।

जनसमुदायलाई सम्बोधन गर्दै नायडूले भने, “यो परियोजना केवल रायलसीमा क्षेत्रका लागि मात्र होइन, सम्पूर्ण भारतका लागि विकासको इन्जिन बन्नेछ।” उनका अनुसार स्थानीय रूपमा सुन उत्पादन हुँदा विदेशी मुद्रा बचत हुनुका साथै युवाहरूलाई रोजगारीका अवसर पनि प्राप्त हुनेछन्।

उनले थपे, “सुन खानीको पुनः सञ्चालन यस क्षेत्रको ऐतिहासिक गौरव फर्किएको प्रतीक हो।”

पहिलो वर्षमै ४०० किलोग्राम सुन उत्पादन हुने अपेक्षा

गत मे महिनामा परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न भएपछि व्यावसायिक उत्पादनको बाटो खुलेको थियो। परियोजनाबाट पहिलो वर्ष करिब ४०० किलोग्राम सुन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन भारतको कुल घरेलु उत्पादनको झण्डै २० प्रतिशत हुनेछ।

दोस्रो वर्षदेखि वार्षिक उत्पादन बढेर ९०० किलोग्राम पुग्ने अनुमान गरिएको छ। पूर्ण विस्तार भएपछि यस खानीबाट वार्षिक दुई टनसम्म सुन निकाल्न सकिने बताइएको छ।

४०५ करोड रुपैयाँको लगानीमा सुरु भएको यस परियोजनाबाट आन्ध्र प्रदेश सरकारले उत्पादित सुनको मूल्यमा ४ प्रतिशत रोयल्टी प्राप्त गर्नेछ। हालको उत्पादन स्तरका आधारमा यो रकम वार्षिक करिब ५७ करोड रुपैयाँ हुनेछ।

७०० जनाले प्रत्यक्ष रोजगारी पाउने

यस परियोजनाबाट करिब ७०० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। परियोजनामा कार्यरतमध्ये ८० प्रतिशतभन्दा बढी स्थानीय बासिन्दा हुने बताइएको छ।

रोयल्टीमार्फत पनि राज्य सरकारलाई उल्लेखनीय आम्दानी हुनेछ। प्रारम्भिक ४०० किलोग्राम उत्पादनबाट करिब ५७ करोड रुपैयाँ तथा वार्षिक उत्पादन ९०० किलोग्राम पुगेपछि करिब १४४ करोड रुपैयाँ रोयल्टी प्राप्त हुन सक्ने अनुमान गरिएको छ।

मुख्यमन्त्री नायडूले भने, “आन्ध्र प्रदेशको अर्थ केवल अन्नपूर्णा मात्र होइन, रत्नगर्भा पनि हो। यहाँका खनिज भण्डारहरू त्यसका प्रत्यक्ष प्रमाण हुन्। जोन्नागिरी गोल्ड फिल्ड यस क्षेत्रको विकासको मुख्य आधार बन्नेछ भन्ने मलाई विश्वास छ।”

सम्राट अशोकको समयपछि पहिलोपटक उत्खनन

जोन्नागिरी परियोजना आन्ध्र प्रदेशको कुरनूल जिल्लामा भारतको पहिलो निजी क्षेत्रीय स्वर्ण उत्खनन परियोजनाका रूपमा सुरु भएको हो। ऐतिहासिक अभिलेखअनुसार यस क्षेत्रमा अन्तिम पटक ईसापूर्व तेस्रो शताब्दीमा अशोकको शासनकालमा सुन निकालिएको थियो।

भारतको स्वर्ण उत्खनन नक्सामा आन्ध्र प्रदेश

यस पहलसँगै आन्ध्र प्रदेश भारतको स्वर्ण उत्खनन नक्सामा समावेश भएको छ। अहिलेसम्म भारतमा सुन उत्खननको चर्चा मुख्यतः कोलर गोल्ड फिल्डसँग जोडिने गरेको थियो, जुन अहिले बन्द भइसकेको छ।

जोन्नागिरी क्षेत्रमा सुनको भण्डारको पहिचान हिरा फेला परेपछि भएको विस्तृत भूगर्भीय अध्ययनबाट भएको थियो। जियोलोजिकल सर्भे अफ इन्डियाले गरेको करिब तीन दशक लामो अनुसन्धानले जोन्नागिरी, एर्रागुडी र पागिदिराय गाउँहरूमा व्यावसायिक रूपमा लाभदायक सुनका भण्डार रहेको पुष्टि गरेको थियो।

भारतको सुन उत्पादन अझै न्यून

हाल भारतले वार्षिक करिब १।५ टन मात्र सुन उत्पादन गर्छ, जुन देशको कुल वार्षिक सुन खपतको करिब १ प्रतिशत मात्र हो। परम्परागत रूपमा सुनलाई समृद्धि र सम्पत्तिको प्रतीक मान्ने भारतजस्तो देशका लागि घरेलु उत्पादन वृद्धि आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको छ। (एजेन्सी)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *