विश्वकप फुटबल आजदेखि
काठमाडौँ। फिफा विश्वकप पुरुष फुटबल प्रतियोगिता उत्तर अमेरिकाभरि ऐतिहासिक उद्घाटन समारोहहरूको शृंखलासहित आज बिहीबारदेखि सुरु हुँदै छ। इतिहासमा पहिलोपटक विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा उद्घाटन गर्न लागेका हुन्।
तीनवटै देशमा फरक-फरक उद्घाटन समारोह हुन लागेको पनि यो पहिलोपटक हो। प्रतियोगिता जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्युयोर्कमा हुने फाइनल खेलसँगै समाप्त हुनेछ।
तीनै देशमा आयोजना गरिने समारोहहरू एउटै साझा विषयवस्तुमा आधारित हुनेछन्, जसको उद्देश्य तीन आयोजक राष्ट्रलाई एकताबद्ध रूपमा प्रस्तुत गर्नुका साथै उनीहरूको संस्कृति, पहिचान र सिर्जनात्मकतालाई विश्वसामु देखाउनु रहेको छ। प्रत्येक समारोह सम्बन्धित देशको उद्घाटन खेल सुरु हुनुभन्दा ९० मिनेटअघि सुरु हुनेछ।
यी कार्यक्रमहरूको निर्माण ओलम्पिक उद्घाटन समारोहहरूका चर्चित क्रिएटिभ निर्देशक मार्को बालिचले गरेका हुन्। प्रत्येक समारोहको आफ्नै विशेष शैली भए पनि सबैलाई जोड्ने मुख्य सन्देश फुटबलले सिमाना नाघेर मानिसहरूलाई एकताबद्ध गर्ने शक्ति नै हुनेछ।
क्यानाडाको प्रस्तुतिमा त्यहाँको बहुसांस्कृतिक समाजलाई जोड दिइएको छ भने मेक्सिकोको प्रस्तुतिमा परम्परागत पपेल पिकाडो कलामा जोड दिइने भएको छ। अमेरिकाको प्रस्तुति भने चम्किलो विश्वकप ट्रफीको अवधारणामा आधारित रहनेछ। उद्घाटन समारोहलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप यस्तो क्षण भएको बताएका छन् जसलाई सम्पूर्ण विश्वले साझा गर्छ र यसको प्रारम्भ कसरी हुन्छ भन्ने कुराले विशेष महत्त्व राख्छ।
मेक्सिको सिटीको उद्घाटन कार्यक्रम लगभग १६ मिनेट ३० सेकेन्डको हुनेछ। यस्तै टोरन्टोको लगभग १३ मिनेट र लस एन्जलसको समय लगभग १३ मिनेटको हुने बताइएको छ। कार्यक्रम सकिएपछि टोलीहरूले मैदानमा वार्मअप गर्नेछन्। त्यसपछि खेलाडी प्रवेश र औपचारिक परिचय कार्यक्रम खेल सुरु हुनुभन्दा २५ मिनेटअघि सुरु हुनेछ।
मेक्सिको सिटीमा मेक्सिको र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ। टोरन्टोमा क्यानाडा र बोस्निया हर्जगोभिनाबीच अनि लस एन्जलसमा अमेरिका र पाराग्वेबीच पहिलो खेल हुने तालिका छ। मेक्सिको सिटी रंगशालामा हुने समारोहमा मेक्सिकन संस्कृति झल्काउने आदिवासी कलाकारहरू, आधुनिक लोकनृत्य प्रस्तुति तथा परम्परागत पपेल पिकाडो कलाको प्रदर्शन गरिनेछ।
त्यहाँ प्रसिद्ध गायिका साकिराले ‘दाइ दाइ’ गीत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, जसमा उनीसँगै बुर्ना ब्याय पनि सहभागी हुनेछन्। साकिराले जुलाई १९ मा हुने विश्वकप फाइनलको पहिलो हाफ टाइम शोमा म्याडोना र बीटीएससँग प्रस्तुति दिने कार्यक्रम समेत तय भइसकेको छ।
विश्वकप उद्घाटनको अवसरमा मेक्सिको सिटी प्रशासनले जुन ११ मा सार्वजनिक बिदा घोषणा गरिसकेको छ। त्यहाँ विद्यालयहरू बन्द रहनेछन् भने रोजगारदाताहरूलाई घरबाट काम (वर्क फ्रम होम) का लागि अनुमति दिन प्रोत्साहन गरिएको छ।
रंगशाला क्षेत्रभित्र टिकटधारी, मान्यता प्राप्त सञ्चारकर्मी र आधिकारिक व्यक्तिहरूलाई मात्र प्रवेश दिइने व्यवस्था मिलाइएको छ। यसपटकको विश्वकप फुटबलको उद्घाटन केवल खेलकुद कार्यक्रम मात्र नभई संगीत, संस्कृति र विश्वव्यापी एकताको उत्सवका रूपमा प्रस्तुत हुने देखिएको छ।
