कुरा सरल पत्रिकाको
सरल पत्रिकाको कुरा भन्नुअघि संक्षेपमा देशको कुरा भनूँ ।
देशमा लोकतान्त्रिक शासनव्यवस्था छ, गणतन्त्र छ । शासन प्रणालीमा संघीय संरचना छ । संघ, प्रदेश, स्थानीय तह गरी तीन तहको सरकार छ ।
संविधानसभाले जारी गरेको ‘नेपालको संविधान’ ले नागरिकका लागि सबै किसिमको स्वतन्त्रता र हकअधिकार पक्का गरेको छ । संविधान जारी भएको दश वर्षमा संघीय प्रतिनिधिसभाका लागि तीन पटक निर्वाचन भएको छ । जनप्रतिनिधित्वको दायरा फराकिलो भएको छ ।
तीन दशक एकछत्र शासन गरेको निर्दलीय र निरंकुश पञ्चायती व्यवस्था अन्त्यको साढे तीन दशकमा देशले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा लामो फड्को मारेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकलगायत अनिवार्य आवश्यकताका क्षेत्रमा द्रुत गतिमा उपलब्धि भएको छ । विकासको गति बढेको छ ।
नागरिक चेतनामा व्यापक वृद्धि भएको छ । शासनाधिकारीमाथि प्रश्न उठाउने र निगरानी गर्ने नागरिक क्षमता बलियो भएको छ । सञ्चार प्रविधिमा भएको द्रुत विकासले नागरिकको सशक्तीकरण पनि द्रुत भएको छ ।
नागरिकको बढ्दो चेतनाले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा परिमार्जन र सशक्तीकरणको गति पनि बढाएको छ । न्याय र अधिकारका लागि नागरिक आवाज फराकिलो र बलियो हुँदै गएको छ ।
नागरिकको चेतना बलियो हुँदै जाँदा; राजनीतिक, सामाजिक, आर्थिक गतिविधिमा सशक्त हुँदै जाँदा शासनाधिकारीमाथि प्रश्न पनि बलियो हुँदै जाँदो छ । शासनाधिकारीहरूको व्यक्तिगत र सामूहिक उत्तरदायित्वको खोजी बलियो हुँदो छ ।
शासनप्रणाली जनपक्षीय र पारदर्शी हुन प्रश्न र उत्तरदायित्व अनिवार्य रहेछ ।
राज्य एकीकरणपछिको आधुनिक नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरू भए । एक सय चार वर्ष निरंकुश राणाशासन चल्यो । त्यसपछि अनिश्चिता र अन्योलको एक दशक चलेर निर्वाचन त भयो तर साढे एक वर्षमै जननिर्वाचित सरकार अपदस्थ भयो । तीन वर्ष निरंकुश–निर्दलीय पञ्चायती शासन चल्यो । संयुक्त जनआन्दोलनबाट बहुदलीय लोकतन्त्र स्थापना भयो ।
त्यही बीचमा फेरि एक दशक सशस्त्र द्वन्द्व चल्यो । गणतन्त्र आयो । संविधानसभाबाट संविधान जारी भयो ।
यस्तो राजनीतिक परिवर्तन सहजै भएको होइन । ठूल्ठूला क्रान्ति र आन्दोलन भएका छन् । हजारौँको सहादत भएको छ ।
फेरि भदौ २३–२४ आयो । सरकार पतन भयो, प्रतिनिधिसभा विघटन भयो । गैरदलीय सरकार बन्यो । निर्धारित समयमा निर्वाचन भयो । जननिर्वाचित सरकार बन्यो ।
देश लयमा फर्केको छ ।
यस्तो पृष्ठभूमिबाट हामी दुई दशकमा अन्तरिम संविधान र संविधानसभाबाट जारी संविधान हुँदै गणतन्त्र, लोकतन्त्र र संघीय संरचना आइपुगेका हौँ ।
अब हामीलाई चाहिएको छ दैनिक मानवीय आवश्यकता सहज परिपूर्ति, राजनीतिक स्थिरता, रोजगारी, द्रुत विकास, आर्थिक समुन्नति अनि सुदृढ मानवअधिकार, न्याय र सम्मानजनक जीवनचर्या ।
अब कुरा सरल पत्रिकाको ।
एक दशकअघि सुरु भएको सरल पत्रिका पाठकहरूमाझ विस्तार हुँदै थियो । एकाएक पछिल्ला केही वर्षयता यसको गति केही सुस्त भयो । हामीले अब यसको गति बढाउँदै पाठक दायरा फराकिलो बनाउने दृढ निश्चय गरेका छौँ ।
सरल पत्रिका देशको इतिहास तथा वर्तमान राजनीतिक, सामाजिक र आर्थिक पृष्ठभूमि ध्यानमा राखेर शासनाधिकारीहरूको जबाफदेयिता, सुदृढ मानवअधिकार र न्यायका निम्ति आवाज उठाउन निरन्तर क्रियाशील रहनेछ ।
यही निष्ठाका साथ हामी क्रियाशील रहनेछौँ । हामी यसैअनुसार पाठ्य र श्रव्य–दृश्य सामग्री तयार पारेर प्रस्तुत गर्नेछौँ । यसैनिमित्त मिहिनेत गर्नेछौँ ।
हामी समस्त पाठक, लेखक, विश्लेषक, विद्वत् वर्ग, उद्योगी–व्यवसायी, विज्ञापनदाता, शुभेच्छुकलगायत सबैसँग सहकार्य गर्न चाहन्छौँ । सहकार्यका निमित्त आह्वान गर्दछौँ । सुझाब र सहभागिता चाहन्छौँ ।
