सुनसरी घटना छानविन गर्न समिति गठन
सरल पत्रिका। सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति (साउन १० गते) दुई समूहबीच भएको झडपको घटना छानविनका लागि सरकारले गृहमन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनको म्याद दिइएको छ।
यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए। आजै साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।
झडप नियन्त्रणका लागि सशस्त्र प्रहरीले प्रयास गर्दा स्थानीय युवक ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको भनिएको छ।
मृत्युको शोकमा देवानगञ्ज गाउँपालिकाले एक सूचना जारी गर्दै मंगलबार र बुधबार दुई दिन बिदा दिएको छ । गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, शैक्षिक संस्थामा शोक बिदा दिइएको कुरा सूचनामा जनाइएको छ।
घटनापछि सुनसरी जिल्ला प्रशासन कार्यालयले देवानगञ्जको कप्तानगञ्ज बजारसहित पाँच ठाउँमा अनिश्चितकालीन कफ्र्यु लगाएको छ। सोमबार बिहान सात बजेदेखि कर्फ्यु जारी छ।
सुनसरी प्रहरीका अनुसार घटनामा आठ जनालाई गोली लागेको छ। उनीहरूको उपचार विराटनगरका अस्पतालहरूमा भइरहेको छ। केही प्रहरी पनि घाइते भएको जनाइएको छ।
आइतबार राति साउनको सोमबार मनाउन बोलबम (शिवमन्दिर जाने सामूहिक यात्रा) जाने एक समूहमाथि अर्को सूमहले आक्रमण गर्दा झडप भएको थियो।
