युवापुस्ताको आन्दोलन- भारतीय राजनीतिमा नयाँ चुनौती
दक्षिण एसियाली महाद्वीपमा पछिल्ला वर्षहरूमा राजनीतिक र सामाजिक आन्दोलनको स्वरूपमा युगान्तकारी परिवर्तन आएको छ। परम्परागत राजनीतिक दल, स्थापित विचारधारा र जातीय/धार्मिक समीकरणभन्दा माथि उठेर शिक्षा, पारदर्शिता, रोजगारी र प्रशासनिक जवाफदेयितालाई मुख्य एजेन्डा बनाउने नवयुवा पुस्ता जेन–जेड (Gen-Z) को नयाँ लहर सुरु भएको छ। बङ्गलादेश र नेपालपछि गत केही हप्तादेखि भारतमा निट (NEET) प्रश्नपत्र लिकको मुद्दा उठाएर नवयुवा पुस्ताले चलाएको आन्दोलन एउटा उचाइमा पुगेर केही मत्थर भएको छ। संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान राजीनामा गर्न बाध्य भए।
सोनाम वाङचुक जस्ता निष्कलंक सामाजिक अभियन्ताहरूको नैतिक समर्थन र ‘कक्रोज जनता पार्टी (CJP)’ को नाममा सङ्गठित भएको युवा आक्रोशले सशक्त राजनीतिक परिवर्तनको रूप लिने सम्भावना देखिए थियो। यस्तो सम्भावना अद्यापि कायम छ।
१. ‘कक्रोज जनता पार्टी’को प्रतीकात्मक विद्रोह
भारतमा निट (NEET) जस्ता राष्ट्रिय परीक्षामा भएको धाँधली र प्रश्नपत्र लिकका घटनाले करोडौँ युवा र उनीहरूका अभिभावकको भविष्यमाथि कुठाराघात गर्यो। यसअघि पनि भारतमा यस्ता मुद्दा त उठ्थे तर त्यसले यति सशक्त अन्दोलनको रूप लिन सकेको थिएन।
गत वर्षाहरुमा भएका किसानहरुका अन्दोलन होउन् वा अन्ना हजारे वा आप पार्टीका अन्दोलन, तिनले अहिलेको जति समर्थन हासिल गर्न सकेका थिएनन्। अहिले भने भारतको जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने नव युवा पुस्ता नै अन्दोलित भएपछि भने सरकार निकै लचिले भएर नीतिगत र कानुनी सुधारके प्रतिबद्धतासहित अन्देलनकारीको माग सम्बोधनका लागि राजी भएको देखिन्छ।
यस आन्दोलनको सबैभन्दा चाखलाग्दो पक्ष चाहिँ यसको सङ्गठन शैली र नाम रहेको छ। न्यायिक वा राजनीतिक वृत्तबाट बेरोजगारी र परीक्षा सुधारका माग गर्ने युवामाथि गरिएका असंवेदनशील टिप्पणी (जस्तै ‘कक्रोज’ वा कीरा-फट्याङ्ग्रासँगको तुलना) को जबाफमा जन्मिएको ‘कक्रोज जनता पार्टी’ कुनै परम्परागत दल होइन। यो व्यवस्थाबाट उपेक्षित युवाहरूको साझा पीडा र प्रतीकात्मक विद्रोहको उपज हो।
प्रवासमा रहेका युवाको अह्वानमा करोडौँ युवाहरु केही दिनभित्रै संगठित हुनु र त्यसले देशव्यापी समर्थन पाउनुलाई विश्लेषकहरुले भारतको राजनीतिमा नवयुवा पुस्ताको हस्तक्षेप बढ्न सक्ने संकेतका रूपमा लिएका छन्।
लद्दाखका शिक्षा र वातावरणसम्बन्धी अभियन्ता सोनाम वाङचुक जस्ता निष्कलंक व्यक्तित्वहरू र समाजका प्रभावशाली सेलिब्रिटीहरूको ऐक्यबद्धताले यस आन्दोलनलाई केवल विद्यार्थीको आक्रोशमा सीमित नराखी नैतिक र बौद्धिक रूपमा बलियो बनाएको छ।
२. १५ वर्षको शासकीय ढाँचा र जेन-जेड मनोविज्ञान
सन् २०१४ देखि भारतमा रहेको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (NDA) र प्रधानमन्त्री नरेन्द्र मोदीको १५ वर्ष लामो शासकीय यात्रामा सुदृढ राष्ट्रवाद, पूर्वाधार विकास र ‘डिजिटल इन्डिया’का ठूला दाबीहरू प्रस्तुत गरिएका छन्। तर, यही शासकीय अवधिको पछिल्लो चरणमा आइपुग्दा युवा मनोविज्ञानसँग सत्ताको दूरी बढ्दै गएको र उनीहरुका मुद्दा सम्बोधन नभएकोले आक्रोश चुलिँदै गएको देखिन्छ।
भारतले एकातिर आफूलाई ‘विश्वगुरु’ र ‘महाशक्ति भारत’को राजनीतिक भाष्य निर्माण गर्ने प्रयास गरिरहेको छ भने अर्कोतिर युवाहरूले प्रश्नपत्र लिक, प्रशासनिक भ्रष्टाचार र रोजगारीको अनिश्चितता भोगिरहेका छन्। नवयुवा पुस्ताका लागि सिद्धान्त वा विचारधाराभन्दा आफ्नो व्यक्तिगत भविष्य र परिणाम महत्त्वपूर्ण हुन्छ। ये पुस्ता तत्कालका मुद्दाहरू कसरी सम्बोधन गरिदैछ भनेर हेर्छ न कि विश्वगुरुको सपना।
ये पुस्ता डिजिटल मुभमेन्ट र ह्यासट्याग राजनीतिमा यसअगिका पुस्ताभन्दा अगाडि छ। यो पुस्ता सामाजिक सञ्जालमा हुर्किएको पुस्ता हो। सडकमा प्रदर्शन हुनुअघि नै एक्स् (ट्विटर), इन्स्टाग्राम र टेलिग्राम जस्ता प्लेटफर्ममार्फत करोडौँ युवाहरू छोटो समयमा मुद्दाकेन्द्रित भएर संठित हुन्छन्। परम्परागत मिडिया वा राज्य संयन्त्रले यस्ता ‘डिजिटल मुभमेन्ट’ लाई सहजै दबाउन वा नियन्त्रण गर्न सक्दैनन्।
३. क्षेत्रीय सन्दर्भ- नेपाल र बंगलादेशसँग
दक्षिण एसियाली राजनीतिमा युवा आक्रोशले कस्तो रूप लिन सक्छ भन्ने कुरालाई नेपाल र बंगलादेशका हालैका राजनीतिक परिवर्तनले स्पष्ट पारेका छन्।
बंगलादेशमा सुरुमा कोटा प्रणाली सुधारको सानो माग लिएर सडकमा ओर्लिएका विद्यार्थीहरूको आवाज जब तत्कालीन सरकारले बेवास्ता र दमन गर्यो, त्यो १५ वर्ष लामो शेख हसिनाको शासन ढाल्ने जनक्रान्तिमा परिणत भयो।
नेपालमा पुराना दलहरूप्रतिको वितृष्णाले निर्वाचनमार्फत ‘नो नट अगेन’ र बालेन शाह/रास्वपा जस्ता नयाँ शक्तिहरू स्थापित गरायो।
भारतको निट (NEET) प्रश्नपत्र लिक विरुद्धको अभियानलाई सरकारले हेपिरहँदा कक्रोच जनता पार्टीको उदय भइसकेको छ। यसले नवयुवा पुस्ता मात्र हेइन स्वतन्त्र बौद्धिक वर्गलाई समेत समाहित गरेर बौद्धिक समर्थन समेत रहेको सन्देश दिइसकेको छ।
यसरी हेर्दा भारतको अहिलेको नवयुवा अन्दोलन अहिलेका तात्कालीन मुद्दामा मात्र सीमित रहिरहला भन्न सकिन्न। यो शक्ति भारतका पपरम्परागत शक्तिका विरुद्ध सशक्त राजनीतिक शक्ति पनि बन्न सक्छ।
४. राजनीतिक सम्भावना र चुनौती-
भारतको सन्दर्भमा यो युवा आन्दोलनले कस्तो राजनीतिक प्रभाव पार्छ भन्ने कुरालाई दुई दृष्टिकोणबाट हेर्नुपर्छ–
क) सत्ता परिवर्तनको सीमित सम्भावना
भारतको विशाल भौगोलिक दायरा, सुदृढ संवैधानिक ढाँचा, बहुदलीय प्रणाली र विविधताका कारण बंगलादेशमा जस्तो रातारात ‘सत्ता तख्तापलट’ वा गैर-संवैधानिक ढङ्गले सरकार ढल्ने सम्भावना अत्यन्त न्यून छ। शिक्षा मन्त्रीको राजीनामा र विद्यार्थीका मागहरूमा सरकारको लचकताले आक्रोश व्यवस्थापन गर्ने सरकारी तत्परता बढेको र युवा आक्रोशको गहनता सरकारले बुझेको देखिन्छ।
ख) दीर्घकालीन र गम्भीर राजनीतिक चुनौती
वैकल्पिक राजनीतिक शक्तिको उदय- जसरी अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट ‘आम आदमी पार्टी (AAP)’ को जन्म भएको थियो, त्यसरी नै ‘कक्रोज जनता पार्टी’ वा यसका नेतृत्वकर्ताहरू भविष्यमा मूलधारको राजनीतिमा युवा-केन्द्रित नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित हुन सक्छन्।
भोटबैंकको ध्रुवीकरण- भारतमा कुल मतदाताको ठूलो हिस्सा १८ देखि ३० वर्ष उमेर समूहको छ। यदि परीक्षा सुधार र पारदर्शिताको मुद्दा चुनावसम्म जीवन्त रह्यो भने, यसले परम्परागत धर्म वा जातिको भोटबैंक भत्काएर सत्ताधारी दललाई आगामी चुनावहरूमा ठूलो धक्का दिन सक्छ।
नीतिगत सुधारको बाध्यता- सरकारले अब ‘नेसनल टेस्टिङ एजेन्सी (NTA)’ को संरचनागत परिवर्तन गर्न र कठोर कानुन (Public Examinations Act) लागू गर्न बाध्य हुनुपर्नेछ, जुन युवा आन्दोलनको ठूलो विजय हो।
निष्कर्ष
कक्रोज जनता पार्टी, निट (NEET) आन्दोलन र सोनाम वाङचुक जस्ता अभियन्ताहरूको ऐक्यबद्धताले भारत सरकारलाई तत्कालै ढाल्ने वा रातारात राजनीतिक सत्ता उलटपुलट गराउने सम्भावना कम भए तापनि, यसले भारतीय राजनीतिलाई दीर्घकालीन र गम्भीर चुनौती भने दिएको छ।
यस आन्दोलनले १५ वर्षे भाजपाको शासकीय प्रणालीलाई स्पष्ट सन्देश दिएको छ – डिजिटल युगको जेन-जेड स्तालाई अब केवल पुराना एजेन्डा, धर्म वा राष्ट्रवादको नारा दिएर भुलाउन सकिँदैन। यदि युवाका आधारभूत शैक्षिक र रोजगारीका मुद्दाहरू गम्भीरताका साथ सम्बोधन गरिएन भने सडक र डिजिटल प्लेटफर्मबाट सुरु भएको आक्रोशले भारतीय राजनीतिको भावी दिशा नै परिवर्तन गरिदिन सक्छ।
