झापा-५ : ओली-बालेन टक्करबीच सुरक्षा चुनौती र त्रासको छाया

दमक । झापाको निर्वाचन क्षेत्र नम्बर ५ अहिले देशकै सबैभन्दा बढी चासो र तनावको केन्द्र बनेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) आमनेसामने भएपछि यहाँको चुनावी वातावरण निकै तातिएको हो।

निर्वाचन नजिकिँदै गर्दा दमक र आसपासका क्षेत्रमा उत्साह मात्र छैन, सर्वसाधारणमा एक प्रकारको त्रास पनि फैलिएको छ। शक्तिशाली उम्मेदवारहरूबीचको कडा प्रतिस्पर्धाले गर्दा कुनै अप्रिय घटना हुने र त्यसकै बहानामा चुनाव स्थगित हुन सक्ने आशंका चिया पसलदेखि टोलटोलमा सुनिन्छ।

माघ ६ गते मनोनयन दर्ताकै दिन एमाले र रास्वपा कार्यकर्ताबीच भएको झडप तथा सामाजिक सञ्जालमा बालेन लक्षित धम्कीपूर्ण भिडियो सार्वजनिक भएपछि सुरक्षा चिन्ता अझै गहिरिएको छ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले झापा-५ लाई ‘विशिष्ट’ क्षेत्र मान्दै सुरक्षा व्यवस्था निकै कडा बनाइएको बताए। दुईजना ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका उम्मेदवार चुनावी मैदानमा भएकाले सतर्कता अपनाउनु स्वाभाविक भएको उनको भनाइ छ।

चुनाव स्थगित हुने हल्ला निराधार रहेको भन्दै उनले सादा पोसाकका प्रहरी र प्रविधिको प्रयोगमार्फत सूक्ष्म निगरानी भइरहेको जानकारी दिए। सुरक्षाका लागि दमकमा तालिमप्राप्त कुकुरसहितको गस्ती र सघन जाँच सुरु गरिएको छ।

धरानबाट आएको केनाइन टोलीले विस्फोटक पदार्थ र अवैध सामग्रीको निगरानी गरिरहेको छ। विशेषगरी दमक बसपार्क, ताराबारी र हबल्दार चोकजस्ता भीडभाड हुने क्षेत्रमा प्रहरीले उच्च सतर्कता अपनाएको छ।

राजनीतिक दलहरूले पनि सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्। ओली र बालेनको घरदैलो अभियान प्रायः एकै क्षेत्रमा केन्द्रित हुँदा दुवै पक्षका समर्थकबीच जम्काभेट र मुठभेड हुन सक्ने प्रहरीको आकलन छ।

त्यसैले चुनावी कार्यक्रमको रुट र समयमा पनि प्रहरीले विशेष निगरानी राखेको छ। झापा-५ मा ओली र बालेनबाहेक कांग्रेसकी मन्धरा पौड्याल र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलासहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

सबै उम्मेदवार मत माग्न व्यस्त भए पनि सुरक्षा र चर्चाको केन्द्र भने ओली-बालेनकै टक्कर बनेको छ। प्रशासनले भने त्रास र हल्लाको पछि नलागी ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ।

* * *

कस्तो छ झापा-५ को चुनावी अवस्था ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *