कस्तो छ झापा-५ को चुनावी अवस्था ?

विराटनगर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ।

यसअघिका निर्वाचनमा मुख्य राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुने गरेको यो क्षेत्रमा यसपटक ‘नयाँ भर्सेस पुराना’ शक्तिको कडा टक्कर हुने देखिएको छ।

विशेष गरी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई देशभरकै ध्यान तान्ने ‘हट सिट’ बनाएको छ। यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङलगायत पनि प्रतिस्पर्धामा छन्। तामाङ पनि लोकप्रिय युवा नेताका रुपमा परिचित छन्।

२०७० सालयता निरन्तर विजयी हुँदै आएका ओलीलाई यसपटक बालेनले चुनौती दिएपछि चुनावी मैदान रोचक बनेको हो।

गौरादह क्याम्पसका पूर्वप्रमुख गोपाल काफ्ले यसपटकको निर्वाचनमा जातीय र सामाजिक मुद्दाभन्दा पनि ‘पुस्ता हस्तान्तरण’ को एजेन्डाले प्राथमिकता पाएको बताउँछन्। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेपछि यो बहस सहरबाट भित्री गाउँसम्म पुगेको छ।

जनगणना २०७८ को तथ्याङ्कअनुसार झापा-५ को कूल जनसंख्या २ लाख ३७ हजार ९ सय ८२ छ। यसपटक यहाँ १ लाख ६३ हजार ३ सय ७९ मतदाताले मतदान गर्नेछन्, जुन अघिल्लो निर्वाचनको तुलनामा करिब ९ हजारले बढी हो। निर्वाचनको नतिजा प्रभावित पार्न सक्ने केही महत्त्वपूर्ण तथ्याङ्कहरू यस प्रकार छन्:

युवा मतदाताको बाहुल्यता: कूल जनसंख्याको ४०.८ प्रतिशत हिस्सा १६ देखि ४० वर्ष उमेर समूहको छ, जसलाई ‘नयाँ शक्ति’ को मुख्य आधार मानिएको छ।

आर्थिक अवस्था: यस क्षेत्रमा ३२.३ प्रतिशत अति उच्च वर्ग र ३०.९ प्रतिशत उच्च वर्गका परिवारको बसोबास छ। ७७.५ प्रतिशत जनसंख्या अर्ध-सहरी क्षेत्रमा बस्छन्।

जातीय बनोट: पहाडिया समुदाय (ब्राह्मण, क्षेत्री, ठकुरी) को हिस्सा ४३.३ प्रतिशत छ भने पहाडिया जनजाति २६ प्रतिशत र तराई जनजातिको संख्या १४.३ प्रतिशत छ।

नेपाली कांग्रेसले यहाँ मन्दरा पौडेललाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृति पार्टीबाट समीर तामाङ पनि प्रतिस्पर्धामा छन्।

राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा, जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार छन् ।

मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट संजय राई, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली, पिपुल फर्स्ट पार्टीबाट धर्मराज गुरागाईं उम्मेदवार छन् । यस क्षेत्रमा पुस्कर खतिवडा, प्रकाश नेपाल, खेमनाथ शिवाकोटी, डम्वर शाहुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबीच, निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको वास्तविक मतपतको नमुना सार्वजनिक गरेको छ । जसअनुसार एमालेको चुनाव चिह्न ‘सूर्य’ सबैभन्दा अगाडि छ भने पहिलो लहरमा दायाँतर्फ क्रमशः नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिस्ट पार्टीको ‘पाँचकुने तारा, रास्वपाको घण्टी र राप्रपाको हलो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *