सुनसरी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ४
विराटनगर। सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा बस र विङ्गर माइक्रो ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।
झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो सोमबार बिहान ठोक्किएका थिए।
दुर्घटनामा चार जनाको मृत्यु भएको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए। घाइते १६ जनाको सुनसरी र विराटनगरका स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ। बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
