अमेरिकामा गोलीकाण्ड : नेपालीभाषी भुटानी परिवारका ३ जनाको मृत्यु
५३ वर्षीय ललित प्रधान
विराटनगर। अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा एक भुटानी-नेपाली परिवारका तीन सदस्यको गोलीकाण्डमा मृत्यु भएको छ। शनिबार बिहान भएको घटनामा ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र ३ वर्षीय छोरा प्रनिश प्रधानको मृत्यु भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, ललित प्रधानले आफ्नी पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि आफैँलाई गोली हानेर आत्महत्या गरेको अनुमान छ।
घटना शनिबार बिहान २ः१० बजे ड्यालसको १९०० ब्लक अफ डड्ली स्ट्रिटमा भएको थियो। खबर पाएलगत्तै ड्यालस प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको मृत्यु भइसकेको थियो। गम्भीर घाइते अवस्थामा रहेका ललितलाई तत्काल अस्पताल लगिए पनि उपचारको क्रममा उनको पनि मृत्यु भएको फक्स फोर न्युजले जनाएको छ
ललित लामो समयसम्म मोरङको पथरीस्थित शिविरमा भुटानी शरणार्थीको रूपमा बसेका थिए। उनी डेढ दशकअघि अमेरिका आएका थिए।
अमेरिकामा रहेको भुटानी समुदायका एक अगुवालाई उधृत गर्दै हिमालयन खबरले जनाए अनुसार, ललित लामो समयदेखि डिप्रेसनको शिकार थिए। घटनाको केही समयअघि उनले फेसबुकमा एक लामो पोस्ट लेख्दै स्वास्थ्य सेवा र मेडिकेट जस्ता सुविधाहरू नपाउँदा समस्या परेको गुनासो गरेका थिए।
रजनी उनकी दोस्री पत्नी भएको र उनको माइती पक्ष काठमाडौंमा रहेकाले शव नेपाल पठाउने तयारी भइरहेको बुझिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
* * *
अमेरिकामा नेपाली–भाषी बढेसँगै बन्दुकको शिकार हुनेको संख्या बढ्यो, यो पढौं-
यसअघि पनि यस्तै प्रकृतिको घटना हुँदा चार जना नेपालीको ज्यान गएको थियो-
