घर पस्यो बन्दुक

अमेरिकामा नेपाली-भाषी बढे, यसै पनि बन्दुकको शिकार हुने नेपाली-भाषीको संख्या बढ्यो । सञ्चारजगतमाथि सामाजिक सञ्जालको रजगज भो, त्यही भएर होला, बन्दुकको शिकार हुने नेपाली-भाषीका (अ) खबरहरूले झसङ्ग पार्ने झन बढ्यो ।

कुनै समय यस्तो थियो । कोही कतै मारियो भने नेपाली-नेपालीमाझ हुँदै फैलन बेर लाग्थ्यो । किनभने स्थानीय सञ्चारमाथिको निर्भरतामा नेपाली पछाडि थिए । अझै पछि छन् ।

सञ्चार-माध्यमका नाममा सीमित नेपाली न्युज-पोर्टल त थिए । तर ताजा अपडेट कमै थियो । ”कामबाट फिरेपछि राख्छु,” भन्ने जवाफ धेरैको हुन्थ्यो । नत्र नेपालकै कुनै सञ्चार-माध्यमको भर पर्नु पर्ने थियो । अझै पनि विश्वासिलो नेपाली न्युज-पोर्टल अमेरिकामा छैन भन्दा अत्युक्ति नहोला । अमेरिकाका आधिकारिक समाचारका लागि सामाजिक सञ्जाललाई नपत्याउनेले नेपालका विश्वासिला न्युज-पोर्टल कुर्नै पर्ने अवस्था छ ।

नेपाली-भाषीको संख्याको प्रसंग । माओवादी विद्रोहसँगै अमेरिकामा नेपालीको संख्या वृद्धिले द्रूत गति लिएको देखिन्छ । जनगणनालाई आधार मान्ने हो भने सन् १९९० मा २ हजार ६ सय १६ रहेका नेपाली सन् २००० पुग्दा ७ हजार ८ सय ५८ भए । सन् २०१० मा ५१ हजार ९ सय ७ र सन् २०२० मा २ लाख ५ हजार २ सय ९७ ।

एनआरएन अमेरिकाले अमेरिकामा रहेका नेपालीको संख्या सन् २०१७ जनवरीमा पहिलोपटक प्रतिवेदन सार्वजनिक गर्दै भनेको थियो, “अमेरिकामा २ लाख ५१ हजार नेपाली छन् ।” संस्थाले वार्षिक १५ हजार पाँचसयका दरले नेपाली थपिँदै गएको अनुमान गरेको पनि थियो । यसो भनेको पनि आठ वर्ष भइसक्यो ।

एनआरएनको अनुमानलाई हिसाबमा उतार्दा ३ लाख ७१ हजार पुगेको हुनुपर्छ । जे जसो देखिए पनि अमेरिकाका आधिकारिक निकायहरूको अनौपचारिक बुझाइमा यहाँ ५-६ लाखसम्म नेपाली हुनुपर्छ भन्नेमा छ । नेपालीहरूको स्थायी बसोवास ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बाक्लो देखिन्छ । ती शहर डालस, न्यूयोर्क, वाशिङटन डिसी र यसको आसपास, सान फ्रान्सिस्को, बाल्टिमोर, बस्टन, एटलान्टा, पिट्सबर्ग, आदि हुन् ।

यसैबीच अमेरिका तथा अरू सात मुलुकले नेपाली-भाषी भुटानीको पुनर्वास चलायो, सन् २००८ मा । सन् २०१७ सम्म र त्यसपछि केही रहलपहल वा नाताका कारणले आउनेको कुल संख्या हेर्दा करिब ९७ हजार नेपाली-भाषी भुटानीलाई बसोबास गराएको तथ्याङ्क छ । यहाँका ४० भन्दा बढी राज्यमा बसाइए पनि उहाँहरू पछिल्ला वर्षहरूमा पेन्सलभेनिया, ओहायो र केन्टकीमा बढी केन्द्रित हुनुभयो ।

अब आयो, बन्दुकको सन्दर्भ । बन्दुक किनेर राख्ने नेपाली र नेपाली-भाषी भुटानी कति होलान् ? यसको जवाफ सहज छैन । अमेरिकामा कानुनसम्मत बन्दुक किन्नु कुनै अनौठो पनि रहेन । तर यससँगै अधिकार, जिम्मेवारी, यसबारे शिक्षा, सुरक्षा आदि घर भित्रन्छ । त्यसमा कमी-कमजोरी भने हुनुभएन ।

नेपाली र नेपाली-भाषी भुटानीमाझ बन्दुकका घटनालाई जोड्ने हो भने सन् २०१३ फेब्रुअरी ११ मा विद्यालयबाट फर्कदैं गरेका ९ वर्षीय डेभिन अर्याल मिनियापलिसमा, सन् २०१८ सेप्टेम्बरमा मेरिल्याण्डको राइट एडको गोदाममा काम गर्ने बृन्दा गिरी आदि मारिनु अरू बन्दुकका घटनाका अपवाद हुन् । नेपाली मारिएका अधिकांश घटना ग्याँस स्टेसन वा साना किराना पसलहरूमा घटेका छन् ।

दुई दशकअघि देखिका घटना हेर्ने हो भने आउने बित्तिकै काम गर्ने ठाउँ भनेका ग्याँस स्टेसन वा साना किराना पसल हुन्थे । यसबाट अझै पनि कयौंको अवस्था उठेको छैन । मारिने पनि यस्तै ठाउँमा थिए । पछि जाँदै गर्दा आफैं ग्याँस स्टेसन वा साना किराना पसल चलाउने पनि बन्दुकका शिकार भए, तर कमै ।

बन्दुक तेर्स्याएपछि हुने झडपका घटनाका किस्सा त हजारौं छन् । मृत्यु जित्ने सयौं छन् । बन्दुकबाहेक चक्कु, लाठी (काठ वा धातु) को प्रहार खाने त कति धेरै ।

सन् २०१३ फेब्रुअरीमा न्युजर्सीको ग्याँस स्टेसनमा काम गर्ने बालकृष्ण कार्की हुन्, २०१२ जनवरीमा जर्जिया राज्यको डेकाल्ब काउन्टीको एउटा ग्याँस स्टेसनमा काम गर्ने दामोदर पाठक हुन्, वा सन् २०२४ जुलाईमा टेक्सासको ग्याँस स्टेशनमा कार्यरत विकास वली हुन् – सबै ग्यास स्टेसनका घटना हुन् ।

नेपाली-भाषी भुटानी समाजमा बन्दुकको सम्बन्ध ग्याँस स्टेसन वा साना किराना पसललाई पाखा लगाएर हेर्ने हो भने अनौठो छ । एउटा समय के आयो भने भुटानी युवा बन्दुक किन्न लालयित देखिए । एउटा ट्रक (नेपालमा चल्ने टाटा मोबाइल जस्तो) र एउटा बन्दुक – एउटा फेसन । यससँग सम्बन्धित घटनाहरूले बेला-बेला पूरै नेपाली-भाषी भुटानी समाजको ओठ-मुख सुकेको हुन्छ ।

सन् २०१९ अगस्तमा ओहायोको सिन्सिन्याटीस्थित कट्टेल निवासमा पाहुना भएर आएका आफन्त युवाको कम्मरमा बाँधेको ग्लोक १९ हाते-बन्दुक (ह्यान्ड-गन) घरकी बुहारीले साँच्चै कि खेलौना भनेर घोडा थिच्दा उनका श्रीमानलाई लाग्यो । टीकाको निधन भयो ।

सन् २०२२ मार्चमा ओहायोकै एक्रनमा एउटा बालकले चलाएको बन्दुकबाट अर्को बालकको घरमै निधन भयो । यस्ता अरू घटना छन् – सिंगो नेपाली-भाषी भुटानी समाज झस्काइरहने ।

नेपाली र नेपाली-भाषीमा बन्दुकसम्बन्धी घटना केलाउँदा यसै जुन महिनाको भर्जिनिया, मनाससको घटनालाई घर पसेको बन्दुक-घटनासँग जोडेर हेर्नुपर्छ । एकै परिवारका ४ जनाको मृत्युको घटना नेपाली परिवारभित्र घरभित्र बन्दुकका कारण भएको सम्भवतः यो नयाँ र पहिलो हुनुपर्छ । (माथि तस्बिर)

बन्दुक, अमेरिकामा यसको संस्कृति छ । बन्दुकको सुरक्षासम्बन्धी शिक्षा बालकदेखि पाइन्छ । तर हाम्रा युवाका हातमा शिक्षाभन्दा पहिला बन्दुक आयो, बन्दुक शिक्षाको अंश रित्तो जस्तै रह्यो । रित्तो दिमागमा बन्दुक कम्मरमा भिरियो । विनाश निम्तियो ।

-न्युज २४ दैनिकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *