मोरङमा नाबालिका बलात्कार-हत्याका दोषी काकालाई आजीवन कारावास
विराटनगर। मोरङको धनपालथान गाउँपालिका–५ मा ७ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा २२ वर्षीय अनिष सरदारलाई जिल्ला अदालत मोरङले आजीवन कैदको फैसला सुनाएको छ। अनिष मृत बालिकाका आफ्नै काका हुन्।
गत असार १४ गते घर नजिकैको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा बालिकाको शव फेला परेको थियो। प्रहरी अनुसन्धानबाट अनिषले बलात्कार गरेर घटना लुकाउन बालिकाको हत्या गरेको खुलेको थियो।
जिल्ला अदालत मोरङमा अनिषले बयानका क्रममा आफ्नो कसुर स्वीकार गरेका थिए। न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार थुनछेक बहसकै दिन मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम उनलाई आजीवन कारावासको फैसला सुनाएको हो।
अदालतले अनिषलाई ७ लाख रुपैयाँ जरिबाना र मृतकको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। प्रहरी अनुसन्धानबाट अनिषले मदिरा सेवन गरी भतिजीलाई बलात्कार गरेपछि हत्या गरेको र शव फालेको पुष्टि भएको थियो।
* * *
