शिक्षा ऐन जारी गर्न माग गर्दै निजी विद्यालय बन्द

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आज शुक्रबार निजी विद्यालयहरू बन्द गराएको छ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको हो। निःशुल्क शिक्षाको सुनिश्चितता, शिक्षामा भइरहेको निजीकरणको अन्त्य, र शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने लगायतका माग क्रान्तिकारीले अघि सारेको छ।

संविधानअनुसार हरेक नागरिकले निःशुल्क शिक्षा पाउनु मौलिक अधिकार भएको क्रान्तिकारीले बताएको छ। प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने भन्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ।

बन्द आह्वान भएपछि धेरैजसो निजी विद्यालयले बिहीबार नै अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । खबर नपाएकाले विद्यार्थीहरू भने स्कुल पुगेका फर्किएका छन्।

सरकारी शैक्षिक संस्था र कतिपय निजी विद्यालय भने पहिलो त्रैमासिक परीक्षापछि केही दिनका लागि बिदा दिइएकाले कारण बन्द छन्।

सरकारले शिक्षकहरूसँग वार्ताका क्रममा असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता गरेको थियो। त्यो म्याद गुज्रिसक्दा पनि विधेयक संसदमा पेस नै हुन सकेको छैन।

प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अन्तिम छलफलका क्रममा रहेको विधेयक त्यहीँ अड्किएको छ। समितिले पारित गरेपछि मात्रै संसदमा प्रस्तुत भइ त्यहाँबाट पारित हुने प्रक्रियामा प्रवेश गर्ने भएकाले विधेयक अलपत्र परेको छ।

बोल्यो शिक्षक महासंघ, ‘विधेयकमा सहमति नसमेटिए कडा आन्दोलन’

मन्त्रीको आलटाल, अघि बढाइँदै शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक अन्योल : शिक्षकसँगको सहमति अझै अधुरो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *