शैक्षिक गुणस्तर उकास्न शिक्षकलाई ऊर्जा मिल्ने कार्यक्रममा जोड
विराटनगर । देशभरको शैक्षिक गुणस्तर खस्कँदै गएको पाइएको छ । हालै सार्वजनिक एक प्रतिवेदनले यस्तो अवस्था औंल्याएको हो । शैक्षिक गुणस्तर उकास्न तीनै तहका सरकारले सम्बन्धित विषय शिक्षकलाई ऊर्जा मिल्ने गरी कार्यक्रम बनाउनु पर्नेमा जोड दिइएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी, भक्तपुरले बुधबार धनकुटामा आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
उक्त प्रतिवेदनअनुसार कक्षा १० का विद्यार्थीहरुको सिकाई उपलब्धिबारे गरिएको परीक्षणको नतिजा पनि प्रस्तुत गरिएको थियो ।
केन्द्रका अनुसार कक्षा १० को नेपाली, गणित, विज्ञान र अंग्रेजी विषयको सिकाइ उपलब्धि कमजोर रहेको पाइएको छ ।
केन्द्रकी निर्देशक प्रमिला बखतीका अनुसार परीक्षणबाट विद्यार्थीहरुको सिकाइ उपलब्धि सन्तोषजनक नरहेको पाइएको छ । मुख्य गरी ती चार विषयमा कमजोर देखिएको र अन्य विषयमा पनि सन्तोषजनक नरहेको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनअनुसार छात्राको तुलनामा छात्र कमजोर देखिएका छन् । यस्तै, सहरीभन्दा ग्रामीण क्षेत्रका विद्यार्थीहरु बढी कमजोर रहेको पनि जनाइएको छ । केन्द्रका अनुसार नेपाली भाषाका भन्दा अन्य मात्रृभाषा भएको समुदायका विद्यार्थीहरुको सिकाइ गुणस्तर झनै कमजोर पाइएको छ ।
समयमा गृहकार्य गर्ने, विद्यालयमा पनि खाली समयमा गृहकार्य र अध्ययन गर्ने विद्यार्थीहरुको सिकाइ भने राम्रो देखिएको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार प्रतिवेदनले औंल्याएका विषयमा ध्यान दिंदै तीनै तहका सरकारले सम्बन्धित विषय शिक्षकलाई ऊर्जा मिल्ने गरी कार्यक्रम बनाएर शैक्षिक गुणस्तर बढाउनु पर्ने आवश्यकता देखिएको छ ।
