कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्ति आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्ति दिने तयारी थालेको छ । महानगरभित्रका संस्थागत शिक्षण संस्थाका छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरिएको छ ।

काठमाडौं  महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो । इच्छुक विद्यार्थीहरूले १६ गते बुधबारदेखि असार २७ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले सरल पत्रिकालाई जानकारी दिए ।

छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८ देखि १० जेसम्म सञ्चालन गरिने महानगरको शिक्षा विभागले जानकारी दिएको छ ।

छात्रवृत्ति परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र पनि तोकिएको छ । त्यसअनुसार माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा जनाइएको छ ।

कति विद्यालयका कति जना विद्यार्थीका लागि छात्रवृत्ति दिइने भन्ने खुलाइएको छैन । विभागका अनुसार विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी थप विवरण चाँडै प्रकाशन गरिने छ ।

महानगरका मेयर बालेन शाहका अनुसार तीन वर्षअघि ११ कक्षामा करिब २ हजार ४०० जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएका थिए । त्यस्तै, गत वर्ष ११ हजार २८१ जनाले आवेदन दिएकामा ४ हजार जनाले यो मौका पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *