विराटनगरको प्रतिभा पुरस्कार ८ जना स्रष्टालाई
विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ६ वटा पुरस्कारहरू यस वर्ष बिभिन्न आठ जना स्रष्टा तथा संस्थालाई प्रदान गर्ने भएको छ ।
नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएकाले २०८१ सालको प्रतिभा पुरस्कार पोखराका कवि तीर्थ श्रेष्ठलाई दिइने भएका छ । लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार राधाकृष्ण संस्कृत वेद विद्याश्रम चतरा, सुनसरीलाई दिने निर्णय भएको छ ।
यसैगरी, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार विराटनगरका साहित्यकारद्वय गायत्रीकुमार चापागाई र डा. विमला श्रेष्ठलाई संयुक्त रूपमा दिइने छ । दिनबन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार काठमाडौंका साहित्यकार भूवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । ती पुरस्कारहरूको राशि जनही ५० हजार रुपैयाँ छ ।
यस्तै, २१ हजार रुपैयाँको विराटलक्ष्मी प्रतिभा पुरस्कार भोजपुरका अनुसन्धाता सुदीप अधिकारीलाई र त्यति नै राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय मञ्जुश्री गिरी (मोरङ) र अभागी थेगुवा (झापा) लाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव दिङ्लाली कान्छोले जानकारी दिए ।
संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको हो । उक्त सम्मान पुरस्कार असार २९ गते आइतवार भानु जयन्तीका अवसरमा विशेष साहित्यिक समारोहकाबीच सम्बन्धित स्रष्टाहरूलाई हस्तान्तरण गरिने भएको छ ।
डा. नरेन्द्र चापागाई र दधिराज सुवेदीको प्रयासमा निजीस्तरमा २०३९ सालमा स्थापित यो प्रतिष्ठानले हालसम्म १२० भन्दा बढी स्रष्टाहरूलाई पुरस्कृत गरिसकेको छ । प्रतिष्ठानले विभिन्न लेखकका पाँच दर्जनभन्दा बढी विभिन्न विधाका कृति प्रकाशन गरेको छ ।
