६ जनालाई प्रतिभा पुरस्कार दिने घोषणा

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न विषय र विधामा ६ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

२०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०७९ सालका विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको हो ।

प्रतिष्ठानले षडानन्द प्रतिभा पुरस्कार सुनसरीका कवि मान बज्राचार्यलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि २० हजार छ ।

यस्तै, २० हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार झापाकी उपन्यासकार जानुका खतिवडालाई दिइने भएको छ ।

५० हजार राशिको प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका साहित्यकार नरेन्द्रराज पौडेललाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी धनकुटा मूल घर भएका काठमाडौं निवासी कवि तथा नाट्यकर्मी अशेष मल्ललाई ज्वालाप्रसाद प्रतिभा पुरस्कार दिइने भएको छ ।

यो पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

यस्तै, ५० हजार राशिको दीनवन्धु गोयल प्रतिभा पुरस्कार कैलालीको धनगढीका साहित्यकार पद्मराज जोशीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अनुसार लीलानाथ–विश्वमञ्जरी धर्म–संस्कृति प्रतिभा पुरस्कार सुनसरीको धरानस्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयलाई दिइने भएको छ ।

यो पुरस्कारको राशि ५० हजार छ ।

प्रतिष्ठानका सचिव कविराज न्यौपानेका अनुसार असार २९ गते भानु जयन्तीका दिन यी पुरस्कारहरु सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने छ ।

साहित्यकारद्वय नरेन्द्र चापागाईं र दधिराज सुवेदीको पहलमा २०३९ सालमा स्थापना गरी वितरण गर्न थालिएको संस्थाको पुरस्कार पहिलोपटक साहित्यकार नारद ओझालाई दिइएको थियो । त्यसबेला पुरस्कारको राशि १ हजार थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *