सबैभन्दा बढी परीक्षार्थी फेल भएको विषय : गणित
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणित विषयमा फेल (ननग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको २०८१ सालको एसईई नतिजाअनुसार गणित विषयमा सबैभन्दा बढी विद्यार्थी अनुतीर्ण भएका हुन् ।
बोर्डका अनुसार गणित विषयमा एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद् भएको बताए ।
बोर्डका अनुसार अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएका छन् ।
समग्रमा ६१.८१ प्रतिशत परीक्षार्थी ‘ग्रेडेड’ भएका छन् । बोर्डले शुक्रबार साँझ प्रकाशित गरेको नतिजाअनुसार गत वर्षभन्दा यसपालि बढी विद्यार्थीले सफलता पाएका हुन् ।
बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७ छन् । ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना छन् ।
यसैगरी, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ छ । २०८१ को एसईई ७ चैतदेखि सञ्चालन भएको थियो ।
