कतै हल्का, कतै भारी वर्षाको सम्भावना
काठमाडौं। केही दिन निस्क्रिय भएको मनसुनी प्रणाली अब सक्रिय हुन थालेको छ। असार लागेयता मनसुन पूर्वबाट देशका पश्चिमी क्षेत्रमा विस्तार भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ।
बागमती प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कतिपय स्थानमा चट्याङसहित वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।
बुधबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना औंल्याइएको छ।
औसतभन्दा बढी वर्षा हुने
यो वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका विभागका अनुसार कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा छ।
मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
