यो वर्ष सरदरभन्दा धेरै वर्षा हुने
पूर्वी इलामको शुक्रबारेमा भएको वर्षा । तस्बिरः भुपाल राज खतिवडा
काठमाडौं। यो वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका विभागका अनुसार कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा छ।
मनसुन लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ। मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तयार भइसकेको छ।
उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई पठाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सरदरभन्दा बढी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका निकायलाई समयमै तयारीमा जुट्न आग्रह गरेको छ। बाढी, डुबान, चट्याङलगायत आपतकालीन अवस्थाको पूर्वसूचना र चेतावनीप्रति सतर्क रहन र सरकारी निकायहरूले जारी गर्ने आधिकारिक जानकारीको पालना गर्न अपिल गरिएको छ।
