मनसुन सक्रिय भएपछि नदी-खोलामा बढ्दै पानीको सतह
फाइल तस्बिर
काठमाडौं। लगातारको वर्षापछि नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेको छ। शनिबार रातिदेखि कोशी, मधेश, लुम्बिनी, बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
आइतबार बिहानैदेखि कोशीका विभिन्न क्षेत्रका साथै अन्य प्रदेशमा वर्षा जारी छ। निरन्तर वर्षाका कारण नदी, खोलाहरुमा पानीको सतह बढिरहेको छ। मौसम पूर्वानुमान शाखाले अब मनसुन सक्रिय हुन थालेकाले यो अवस्था बढ्दै जाने बताएको छ।
कोशी नदी, सिन्धुलीको कमला नदीलगायतमा पानीको सतह बढेको छ। यो अवस्थामा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। खासगरी नदी तटीय क्षेत्रमा बढी सतर्कता अपनाउनु पर्ने जनाइएको छ।
कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीहरुमा पानीको बहाव बढ्ने देखिएको छ। यसैगरी कन्काई, बागमती, बबई, राप्ती जस्ता नदी खोलामा पनि पानीको सतह बढ्ने क्रममा छ। तमोर त्रिवेणी, दूधकोशी लगायत नदीमा पनि पानीको बहाव बढ्ने क्रममा रहेको जनाइएको छ।
