असार लागेसँगै मनसुन सक्रिय
काठमाडौं। असार महिना लागेसँगै मनसुन सक्रिय भएको छ। पानी पार्ने प्रणाली लगभग देशैभरि पुगेको छ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ। तीन वायुको प्रभावले आइतबार विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ।
बिहान कोशी र बागमती प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार राति पनि कतिपय स्थानमा वर्षा भएको थियो।
आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
