‘बमले उडाइदिने’ धम्कीपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण
प्रतीकात्मक तस्बिर
काठमाडौं। एयर इन्डियाको विमानलाई ‘बमले उडाउने’ धम्की दिइएको छ। यस्तो धम्कीपछि शुक्रबार विमानलाई थाइल्याण्डमा आकस्मिक अवतरण गराइएको छ।
थाइल्याण्डको फुकेटबाट भारतको राजधानी दिल्लीका लागि उडेको विमानलाई उक्त धम्कीपछि विमानलाई त्यहीँको विमानस्थलमा फर्काएर आकस्मिक अवतरण गराइएको हो।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त एआई–३७९ विमानलाई सुरक्षित रुपमा अवतरण गराइएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। विमानमा १५६ जना यात्रु रहेको जनाइएको छ।
विमानको ‘फ्लाइट ट्रयाकर फ्लाइटराडार २४’ का अनुसार विमान फुकेट विमानस्थलबाट बिहान ९ः३० बजे दिल्लीका लागि उडेको थियो।
त्यस्तो धम्कीको खबर आएपछि प्राप्त सूचनाका आधारमा अण्डमान सागरमाथि आकाशमा फन्को लगाउँदै विमानलाई फुकेट विमानस्थल लगिएको ‘डेक्कन हेराल्ड’ ले उल्लेख गरेको छ।
धम्की कसले दिएको भन्ने अधिकारीहरुले खुलाएका छैनन्। एयर इन्डियाको एउटा विमान बिहीबार भारतको अहमदाबादमा दुर्घटना भएको थियो। लन्डनका लागि उडेको केही बेरमै आवासीय क्षेत्रमा खसेर विमानमा आगो लागेको थियो। विमानमा सवार २४२ जनामध्ये एकजना मात्र बच्न सफल भएका थिए।
