विमान दुर्घटना : २४१ जनाको मृत्यु पुष्टि, एकमात्र जीवित
काठमाडौं। भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ।
विमान कम्पनी एयर इण्डियाले सामाजिक सञ्जालमार्फत् यो पुष्टि गरेको हो। बिहीबार दिउँसो लण्डन जान लागेको उक्त विमान धानवमार्गबाट मास्तिर गएको केही बेरमै खसेर दुर्घटना भएको थियो।
घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन्।
भारतीय समयअनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।
टाटा कम्पनीको स्वामित्वको उक्त विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। दुर्घटनामा उछिट्टिएर एकमात्र यात्रु बाँचेका छन्।
उनी भारतीय मूलका ब्रिटिश नागरिक रमेश विश्वास कुमार हुन्। गुजरातनजिकै केन्द्रशासित प्रदेश दीवका बासिन्दा उनले विमान हल्लिएर एक्कासि ठूलो आवाजसहित बजारिएको बताएका छन्। आफूलाई केही मानिसले एम्बुलेन्समा राखेर अस्पताल पुर्याएको बताएका उनको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
