‘जब उठें, चारैतिर लाशैलाश देखें’

काठमाडौं। भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा बचेका यात्रु हुन्, रमेश विश्वास कुमार। गुजरातनजिकै केन्द्रशासित प्रदेश दीवका बासिन्दा उनले विमान हल्लिएर एक्कासि ठूलो आवाजसहित बजारिएको बताएका छन्।

त्यही क्रममा आफू अन्धाधुन्ध रुपमा हामफालेको उनले बताएका छन्। अलि वर आएर हेर्दा चारैतिर आगैआगो देखेको र वरपर लाशहरु देखेको उनको भनाइ छ।

आफूलाई केही मानिसले एम्बुलेन्समा राखेर अस्पताल पुर्याएको बताएका उनको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनी सुरुमा घाइते अवस्थामा नजिकैको सडकमा छटपटाइरहेका थिए। पछि आफैं उठेर हिंडेको भारतीय सञ्चार माध्यम ‘एनएनआई’ ले उल्लेख गरेको छ। भारतीय मूलका ब्रिटिश नागरिक उनी विमानको ११–ए नम्बर सिटका यात्रु थिए।

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको थियो। बोर्डिङ पास पनि साथै रहेका उनले उक्त सञ्चार माध्यमलाई भनेका छन्, ‘जब म उठेँ, मेरो वरिपरि लाशहरू थिए। म डराएँ। उठेर दौडिएँं। मेरो वरिपरि विमानका टुक्राहरू थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल पुर्यायो।’

पछिल्लो विवरणअनुसार दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु भएको छ। विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए।

भारतीय अधिकारीहरुले तीमध्ये २०४ जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकको भनाइ उद्धृत गर्दै २०४ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

२०४ जनाको शव निकालिएको र ४१ जना घाइतेहरुको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। घाइतेहरुको अवस्था निकै गम्भीर रहेकाले मृतक संख्या बढ्ने सम्भावना रहेको भारतीय अधिकारीहरुले उल्लेख गरेका छन्।

यी हुन् विमान दुर्घटनामा बाँचेका यात्रु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *