यी हुन् विमान दुर्घटनामा बाँचेका यात्रु
काठमाडौं। भारतमा बिहीबार दिउँसो भएका एयर इन्डियाको विमान दुर्घटनामा परेकामध्ये एक जना जीवितै भेटिएका छन्।
दुर्घटनामा बाँचेका व्यक्तिको रूपमा पहिचान गरिएका हुन्– भारतीय मूलका ब्रिटिश नागरिक विश्वास कुमार रमेश। प्रहरीका अनुसार उनी सामान्य घाइते अवस्थामा छन्।
अहमदाबाद विमानस्थल नजिकै दुर्घटनापछि भारतीय मूलका व्यक्ति सडकमा छटपटाइरहेको अवस्थामा देखिएको थियो। रमेशले भारतको ‘हिन्दुस्तान टाइम्स’ सँग कुरा गर्दै टेकअफ गरेको ३० सेकेन्डपछि ठूलो आवाज आएको अनि त्यसपछि विमान दुर्घटनाग्रस्त भएको बताएका छन्।
बोर्डिङ पास पनि साथै रहेका उनले उक्त सञ्चार माध्यमलाई भनेका छन्, ‘जब म उठेँ, मेरो वरिपरि लाशहरू थिए। म डराएँ। उठेर दौडिएँं। मेरो वरिपरि विमानका टुक्राहरू थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल पुर्यायो।’
पछिल्लो विवरणअनुसार दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु भएको छ। विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए।
भारतीय अधिकारीहरुले तीमध्ये २०४ जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकको भनाइ उद्धृत गर्दै २०४ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
२०४ जनाको शव निकालिएको र ४१ जना घाइतेहरुको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। जलेका घाइतेहरुको अवस्था निकै गम्भीर भएकाले मृतकको संख्या थपिन सक्ने जनाइएको छ।
