‘पृथ्वीको उपचार नगरे प्रलयले सिध्याउँछ’
माङ्सेबुङ (इलाम)। किरात धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ ले विश्व–ब्रम्हाण्डमा युद्ध, दैवीप्रकोप, महामारी र प्रलयको उच्च जोखिम रहेको बताएका छन्।
किरात धार्मिकस्थल माङ्सेबुुङमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच भविष्यवाणी गर्दै उनले यस्तो जोखिम औंल्याएका हुन्।
विश्व युद्ध र अशान्तिको चपेटामा पर्न सक्ने सम्भावना उच्च रहेको भन्दै लिङ्देनले त्यसबाट बच्न विश्व शान्ति तथा मानव एकताको आवश्यकता रहेको बताए।
पृथ्वीमा प्रलयले मानव जीवन असम्भव हुने हुँदा चिन्ताको विषय भएको उनले दोहोर्याए। यसअघि गरिएको भविष्यवाणीमा पनि उनले यसको संकेत गरेका थिए।
‘शान्ति अत्यन्त आवश्यक रहेको धेरै अघिदेखि बताउँदै आएका छौं’ उनले भने, ‘यसपटक विश्व शान्ति तथा मानव एकताको लागि विशेष पूजासमेत लगाइएको छ।’
पृथ्वीको सही उपचार हुन सके मानव रहने, मानव रहे जनता रहने जनता रहे नेता रहने भन्दै लिङ्देनले भने, ‘त्यसपछि मात्र राष्ट्र, राष्ट्रपति, प्रधानमन्त्री, राजा रहन्छन् र विश्व रहन्छ। पृथ्वी नै रहेन भने हामी कोही रहँदैनौं।’

अब पृथ्वीको उपचारमा सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए। हिंसा, हत्या धेरै भयो भने पृथ्वीमा विनाश सुरू हुन समय नलाग्ने लिङ्देनको भनाइ छ।
‘विज्ञानले गरेको आविष्कारसँगै विनासको पनि सुरूवात हुन्छ। युद्धले अशान्ति, हिंसा, मानव विनासको संहार सुरू गर्छ’ उनले भने, ‘त्यहीँबाट महामारी उत्पन्न भएर विनासको प्रलय शुभारम्भ हुनेछ।’
देश–विदेशबाट गुरूवाणी सुन्न माङ्सेबुङ आइपुगेका किरात तथा गैरकिरात धर्मावलम्बीमाझ बोल्दै गुरू लिङ्देनले विश्व युद्धमा छिट्टै होमिने संकेत समेत गरे।
भविष्यवाणीका क्रममा उनले फेरि अर्को महामारी आउने चेतावनी पनि दिए। यसैगरी लिङ्देनले उत्तरपूर्वी एसियामा एक शक्तिशाली नेताको जन्म हुने भविष्यवाणी पनि गरे।
‘त्यो बेला सबै उसको भनाइमा लाग्नुपर्ने समय आउँछ है’ उनले भने, ‘हाम्रो पालामा त कोनी तपाईंहरूको पालामा पक्का ती शक्तिशाली नेता आउँछन्, त्यतिबेला जम्मैले उनको कुरा सुन्नुपर्ने हुन्छ है।’
गुरू लिङ्देनले २०४५ सालमा गरेको पहिलो भविष्यवाणी आधा पुगेको र आधा पुग्न बाँकी रहेको बताए। महामारी जस्ता प्रकोपहरूबाट बच्न ईश्वरीय अलौकिक शक्तिमा विश्वास गर्नु पर्ने उनको आग्रह छ।
‘डाक्टरको उपचार नलाग्ने, महामारीका संकेतहरू आउने, अचानक फटाफट मान्छे मर्ने समय आइरहेकोले सबै सजग हुनुपर्छ’ उनले भने।
किरात धर्मगुरू लिङ्देनले भने, ‘पूर्व फर्केर युमामाङ (बुढीबोजु) को नाममा धूप बालेर जहाँबाट उत्पत्ति भएका छौ, तिमी त्यतै जाऊ भनेर सबेरै कोहीसँग नबोली युमाको नाममा धूप बाल्नु।’
लिङ्देनले ३३ वर्षपछि यो दोस्रोपटक भविष्यवाणी गरेका हुन्। उनले पहिलो भविष्यवाणी २०४९ माघ ३ र ४ गते माङसेबुङ भालुटारमा गरेका थिए।
किरात धर्मगुरूआमा साँवा पवित्र हाङमा लिङ्देनको बाहुलीवाट विश्व शान्ति तथा मानव एकताको दीप प्रज्वलन गरेर जेठ २३ गते बिहान ७ बजे भविष्यवाणी समारोहको उद्घाटन गरिएको थियो।
यसअघि एक हप्तादेखि लगातार विश्व शान्ति तथा मानव एकताको लागि विशेष विधि ‘तामसेप थक यामयाम सेवा’ गरिएको थियो। भविष्यवाणीका अवसरमा भारतको सिक्किम, भुटान, बर्मा, दार्जिलिङ, हङकङ, बेलायत लगायत मुलुकबाट प्रतिनिधि, भक्तजन र शुभचिन्तकहरू भेला भएका थिए।
माङसेबुङ इलाम किरात हाङसाम मुजोत्लुङ माङहिम (मन्दिर) परिसरमा भएको उक्त भविष्यवाणीमा नेपालका विभिन्न स्थानहरूबाट पनि किरात, गैरकिरात धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति थियो।
तस्बिरः योगेश लावती/भूपेन लिम्बू
विश्व-ब्रम्हाण्डबारे भविष्यवाणी गर्दै किरात धर्मगुरू आत्मानन्द लिङ्देन
