विश्व-ब्रम्हाण्डबारे भविष्यवाणी गर्दै किरात धर्मगुरू आत्मानन्द लिङ्देन
माङसेबुङ (इलाम)। किरात धर्मगुरू आत्मानन्द लिङ्देन (सेइङ) ले विश्व–ब्रम्हाण्डबारे भविष्यवाणी गर्ने भएका छन्। ३३ वर्षपछि उनको यो दोस्रो भविष्यवाणी हुनेछ।
गुरूले मुलुकभित्र हुने घटना अनि विश्व–ब्रम्हाण्डको अवस्था भविष्यवाणी गर्ने आयोजक आयोजक माङेना सेवा समितिले जनाएको छ।
दक्षिणी इलामको माङसेबुङमा धर्मगुरूले जेठ २३ गते भविष्यवाणी गर्ने कार्यक्रम राखिएको छ। माङसेबुङ पूर्ण शाकाहारी क्षेत्र हो। धूमपान, मद्यपान तथा मासुजन्य सामग्री यो क्षेत्रमा वर्जित छ।
माङसेबुङको अर्थ माङ–देवता, सेक–छान्नु, बुङ्–बोट, स्थान वा ठाउँ हो। देवताले छानेको ठाउँ मानिएकाले ‘माङसेबुङ’ भनिंदै आएको छ।
यसअघि उनले २०४९ माघ ३ र ४ गते माङसेबुङकै भालुटारबाट माङ (देव भविष्यवाणी) गरेका थिए। यसपालि किरात हाङसाम मुजोत्लुङ माङहिम (मन्दिर) परिसरको प्राङ्गणबाट हुने भएको छ।

किरात धर्मावलम्बीका केही अनुयायीबीच उनले त्यतिबेला भविष्यवाणी गरेका थिए। यसपटक भने देश–विदेशबाट भेला हुने किरात तथा गैरकिरात धर्मावलम्बी एवं शुभचिन्तकमाझ लिङ्देनले भविष्यवाणी गर्ने तय भएको छ।
माङ (देव) वाणी भएअनुसार गुरू लिङ्देनले भविष्यवाणी गर्ने गरेका छन्। विश्वभर छरिएर रहेका शुभचिन्तक, अनुयायी, भक्तजनहरू बीच भविष्यवाणी हुने भएकाले यसपटकको कार्यक्रमलाई विशेष चासोको रूपमा लिइएको छ।
उक्त दिनको कार्यक्रमका लागि जेठ १४ गतेदेखि विभिन्न पूजापाठ, आराधना सम्पन्न गर्दै गुरू ले भविष्यवाणी गर्ने भएका छन्। १५ दिनदेखि भविष्यवाणीका लागि लगातार पूजा, यज्ञ, होम–होमादी, गालीश्राप बहन्ती लगायत ठूला अनुष्ठान भइरहेको छ।
विश्व शान्ति तथा मानव एकताका लागि पूजा-आराधना सम्पन्न गर्दै भविष्यवाणीको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। भविष्यवाणीपछि जेठ २४ उपस्थित भक्तजनहरूको विदाई कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

आमरुपमा गुरूको वाणी आस्था र विश्वाससँग जोड्नेहरूका लागि मात्र ‘भविष्यवाणी’ भन्ने गरेको पाइएको छ। तर ३३ वर्षअघि गुरूले गरेका भविष्यवाणीहरू २०८२ सालसम्म लगभग पुगेको दाबी गरिएको छ।
३३ वर्षअघि गुरू लिङ्देनले गरेको वाणीमा ठूला नेता मुलुकले गुमाउने, राजामहाराजाको शक्ति हराउने, विश्वमा ठूला युद्ध हुने, आगो-हावा-पानीको शक्ति बढेर जाने जस्ता भविष्यवाणी गरेका थिए।
उनले त्यस्तो भविष्यवाणी गरेको केही समयपछि मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी दुर्घटना चितवनको दासढुंगामा दुर्घटना भएको थियो। दुवैले ज्यान गुमाएका थिए।
यसैगरी, राजदरबार हत्याकाण्ड, राजगद्दी त्याग, कोरोना महामारी, विश्वमा भएका युद्ध, आगलागी, भूकम्प जस्ता प्रकोपहरूसँग मिल्दोजुल्दो भविष्यवाणी उनले गरेका थिए।
पहिलेका भविष्यवाणी अधिकांश मिलेकोले पनि यसपटक धेरैको चासो माङसेबुङतिर सोझिएको छ। धर्मगुरू लिङ्देनले भन्ने गरेका छन्, ‘म किरात धर्ममात्र होइन विश्व शान्ति तथा मानव एकताका लागि जोडबल गर्छु र त्यही गर्दै आएको छुु।’

लिङदेनलाई भेट्न स्वदेशी तथा विदेशी उच्च अहोदाका व्यक्तिहरू समेत आउने गरेका छन्। अमेरिका, वेलायत, सिक्किम, भुटान, दार्जिलिङ लगायतबाट आउने आगन्तुकको लर्को नै हुन्छ। उनीसँग यसअघि पूर्वराजा ज्ञानेन्द्र, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी उच्च तहका प्रतिनिधिले भेट गरिसकेका छन्।
किरात धर्मावलम्बीले उनलाई ‘मानवरूपी साक्षात् देव’ का रूपमा विश्वास गर्छन्। गैरकिरात धर्मावलम्बीहरूले पनि दर्शन तथा आशिर्वाद लिने गरेका छन्।
महागुरू फाल्गुनन्दले पूरा गर्न नसकेका कामहरू पूरा गर्न आफू आएको उनको भनाइ छ। उनी भन्छन्, ‘आशिर्वाद लानुहोस्, माङवाहाङवा, सिद्विशक्ति, आयु–वरदान माग्नुहोस् म दिन्छुु।’
तस्बिरः योगेश लावती
