गृहमन्त्री लेखकले राजीनामा दिनु उत्तम : कोइराला
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन्। आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा उनले पदबाट राजीनामा दिनुपर्ने कोइरालाले बताएका हुन्।
विराटनगर विमानस्थलमा आज शनिबार पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले यस्तो बताएका हुन्। ‘आफू क्लिन छु भन्ने देखाउन पनि पदबाट हट्न आवश्यक छ’ उनले भने, ‘इस्यु आएपछि आफू क्लिन छु भन्ने देखाउन पनि पद छाड्नुपर्छ।’ संलग्नता भए पनि नभए पनि छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा कोइरालाले जोड दिए।
यसअघि विवाद र आरोपका कारण डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिएको सम्मरण गर्दै उनले भने, ‘उहाँले पनि अनुसन्धानका लागि पद छाड्दा हुन्छ। पछि क्लिन चिट पाएपछि फेरि पदमा आउँदा फरक पर्दैन।
‘भिजिट भिसा’ प्रकरणमा रकम लेनेदनको कुरा बाहिरिएपछि कतिपय कर्मचारी कारबाहीमा परेका छन्। यो प्रकरणमा गृहमन्त्री लेखकको पनि नाम जोडिएपछि विवाद बढेको छ।
