मध्यराति भारत-पाकिस्तान मिसाइल हानाहान
भारत प्रशासित कश्मीरको उरीस्थित सलामाबाद गाउँमा पाकिस्तानतर्फबाट गोलाबारीका कारण क्षति पुगेको घर। तस्बिरः एपी/रासस
काठमाडौं। केही सातायता तनावपूर्ण सम्बन्ध चर्किएको अवस्थामा पाकिस्तान र भारतले एक अर्कामाथि मिसाइल प्रहार गरेका छन्। बिहीबार राति दुई देशबीच मिसाइल हानाहान भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
पाकिस्तानको ‘आक्रमण’ लाई एस–४०० एयर डिफेन्स मिसाइल प्रणालीमार्फत असफल बनाएको भारतले दाबी गरेको छ। ‘हिन्दुस्तान टाइम्स’ का अनुसार भारतीय सेनाले जम्मुनजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको छ।
पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य ब्यारेकमा आक्रमण गरेको तर ती सबैलाई असफल पारेको भारतको रक्षा मन्त्रालयले जनाएको छ। जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानलाई लक्षित गरी भारतले आक्रमण गरेको थियो। जम्मु विमानस्थल नजिकै पनि विष्फोटको आवाज सुनिएको जनाइएको छ।
आक्रमणपछि क्षतिको विवरण सार्वजनिक भएको छैन। कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो।
