शिक्षकका माग सुनुवाइ गर्लान् नयाँ शिक्षामन्त्री पन्तले?
काठमाडौं। एमाले नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री पन्तको बिहीबार अपराह्न ४ बजे पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि शिक्षामन्त्री विद्या भट्टराई थिइन्। उनले राजीनामा दिएसँगै रिक्त रहेको पदमा पन्त आएका हुन्। नवनियुक्त एमाले नेता रघुजी पन्त मन्त्रिपरिषद्को आठौँ वरीयतामा परेका छन्। पन्त एमालेका समानुपातिकबाट सांसद बनाइएका हुन्।
शिक्षकहरूको २२ दिन लामो आन्दोलनका कारण शैक्षिक गतिविधि ठप्प छ। कक्षा १२ को परीक्षा डेढ सातालाई सरेको छ।
शिक्षा ऐन जारी गर्नुपर्ने, सरकारले विगतमा गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षक एवं कर्मचारीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आम हड्ताल पनि घोषणा गरेका छन्।
निवर्तमान शिक्षमन्त्री भट्टराईले शिक्षकका माग सम्बोधन गर्नुपर्ने विषयमा कुरा उठाउँदै आएकी थिइन्। आन्दोलनको दबाब पनि उनलाई परेको थियो। प्रधानमन्त्रीले उनलाई साथ नदिएको भनेर आलोचना पनि भइरहेको छ।
अब नयाँ नियुक्त भएका मन्त्री पन्तले शिक्षक आन्दोलनलाई कसरी हेर्लान्? समस्या समाधानमा कत्तिको अग्रसरता देखाउलान् भन्ने चासो आम रुपमा देखिएको छ।
