शिक्षक-कर्मचारी आन्दोलनः ‘अवज्ञा र असहयोग’ सँगै सडक प्रदर्शन

काठमाडौं। नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा जारी आन्दोलनले अब ‘अवज्ञा र असहयोग’ को मोड लिएको छ। आफ्ना माग पूरा गर्न उदासीन भएको भन्दै सरकारको अभियानमा असहयोग गर्ने महासंघको भनाइ छ।

एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने, भर्ना अभियानमा सहभागी नहुने जस्ता अवज्ञामूलक रणनीति महासंघले अपनाइरहेको छ।

दबाब दिने क्रममा गत चैत २५ गतेदेखि महासंघले देशव्यापी शैक्षिक हडताल समेत जारी राखेको छ। यसबीच सरकारले पटकपटक वार्तामा बोलाइसकेको छ । तर पहिलेको सम्झौता कार्यान्वयन नगरेको अनि शिक्षा ऐन जारी गर्ने संकेत नदेखिएको भन्दै आन्दोलनकारीले वार्ता अस्वीकार गर्दै आएका छन्।

विद्यालय शिक्षा ऐन लागू गर्नुपर्ने, सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेर सुरु भएको आन्दोलनमा देशभरका शिक्षक र कर्मचारी सहभागी छन्।

आफ्ना माग पूरा गराउन लामो समयदेखि आन्दोलन गर्दै आएका उनीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन्।

प्रदर्शनलाई आज बिहीबार पनि निरन्तरता दिइने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मध्याह्न १२ बजे माइतीघरमा भेला भएर कार्यक्रम सुरु गरिने जानकारी दिएका छन्।

आन्दोलनकारी शिक्षक–कर्मचारी लगायतलाई सन्देश दिंदै उनले भनेका छन्–

‘हाम्रो आन्दोलन जारी छ। आज पनि ठिक १२ः०० बजे माइतीघर मण्डला आउनुहोला। हामी अवज्ञा र असहयोग सहित शान्तिपूर्ण आन्दोलनमा छौं। ढिलो चाँडो हाम्रा सहमति कार्यान्वयन सहितको ऐन जारी गर्नुको विकल्प छैन राज्यसँग।

आउन बाँकी साथीलाई आन्दोलनमा जोड्न सबैले प्रयास गरौं। आफ्ना आफ्ना पालिका र जिल्लाका साथीहरुलाई बोलाऔं।

आन्दोलनलाई मर्यादित र अनुशासित बनाऔं। तोकिएको अवधि (१२ देखि ३ बजेसम्म) आान्दोलन स्थलमा नै रहौं।

अनाधिकृत समाचार, भ्रामक प्रचार प्रति सजग रहौं।

मेरो आन्दोलन मेरो सहभागिता, बलियो सहभागिता, बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि।’

‘हामी निर्णायक मोडमा आइपुगेका छौं’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *