‘हामी निर्णायक मोडमा आइपुगेका छौं’
काठमाडौं। विद्यालय शिक्षक-कर्मचारीको आन्दोलनलाई नेतृत्व प्रदान गरिरहेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको बताएका छन्।
आफूहरूले उठाएका विषयमा राज्य अझै पनि अनुदार देखिएको भन्दै उनले काठमाडौं केन्द्रित आन्दोलनलाई आज बुधबार पनि निरन्तरता दिने उल्लेख गरेका छन्।
आज मध्याह्न १२ बजे माइतीघरमा भेला भइ प्रदर्शनलाई निरन्तरता दिने सुवेदीले जनाएका छन्।
आन्दोलनकारी शिक्षक–कर्मचारीलाई सन्देश जारी गर्दै उनले भनेका छन्–
‘अब हामी निर्णायक मोडमा आइपुगेका छौं। हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन।
देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं। यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ। तुरुन्तै काठमाडौं आइपुग्नुहोला।
अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचारप्रति सचेत रहनुहोला ।
मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि।’
