‘माग पूरा गरेर शिक्षकहरूलाई कक्षा कोठामा फर्काऔं’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद समयमा कानुन नबनाइदिँदा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउनु परेको भन्दै यो लज्जाको विषय भएका बताएका छन्।
सबै राजनीतिक दलहरूले आफ्नो कमजोरी स्वीकार्दै सामूहिक प्रयासबाट कानुन निर्माण गरी माग सम्बोधन गरेर चाँडो भन्दा चाँडो सडकबाट कक्षा कोठामा विद्यार्थीहरूलाई पढाउन पठाउनुपर्ने उनको भनाइ छ।
शिक्षक आन्दोलनबारे भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘शिक्षकहरूले आफ्ना माग राख्दै आन्दोलन सुरु गरेपछि सबै राजनीतिक दल आलोपालो सरकारमा बसिसक्यौँ । सरकारमा बस्दा कसैले पनि देखाउनु पर्ने तदारुकता देखाउन सकेनौँ । जसको कारणले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था बन्यो । हिजो भएको गल्ती कमजोरीलाई सबैले स्विकार्नुपर्छ । कसैलाई दोषारोपण नगरी सामूहिक प्रयासबाट शिक्षकका माग सम्बोधन गरी चाँडोभन्दा चाँडो उहाँहरूलाई कक्षा कोठामा पठाउनुपर्छ’ थापाले भनेका छन्।
शिक्षकहरू देशभरबाट काठमाडौँमा आन्दोलन गर्न आउनु अहिलेसम्म सरकारमा बसेका र संसद्मा रहेका राजनीतिक दलहरूका लागि लज्जाको विषय भएको थापाले उल्लेख गरेका छन्।
यसबारे कुनै राजनीतिक दलले अर्काे राजनीतिक दललाई दोषारोपण गर्न आवश्यक नरहेको उनको भनाइ छ । अब सबैको सामूहिक प्रयासबाट शिक्षकहरूका माग सम्बोधन गर्न संसदबाट कानुन बनाउन सकिने थापाले बताएका छन्।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राख्दै देशभरका शिक्षकहरु काठमाडौं भेला भएर चैत २० गतेदेखि दैनिक प्रदर्शन गरिरहेका छन्। सरकारले पटकपटक वार्तामा बोलाए पनि माग पूरा गर्न अग्रसरता नदेखाएको भन्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन्।
