वार्ताको भ्रममा नपरी आन्दोलनमा सहभागी हुन महासंघको आह्वान

काठमाडौं। आफ्ना मागबारे सरकारलाई बिहीबार ध्यानकर्षणपत्र बुझाएको नेपाल शिक्षक महासंघले आन्दोलनलाई आज शुक्रबार पनि निरन्तरता दिने भएको छ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनलाई निरन्तरता दिइने भएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता वा संवादको भ्रममा नपरी आन्दोलनमा सहभागी हुन शिक्षक–कर्मचारीमा आह्वान गरेका छन्।

‘वार्ता वा संवादको भ्रममा नपर्नुहोला। हामीले आजसम्म जे पाएका छौं आन्दोलनको बलमा पाएका छौं। अब पनि जे पाइनेछ केवल आन्दोलनको बलमा नै पाइनेछ’ सुवेदीको भनाइ छ, ‘हिजो (बिहीबार) मन्त्रालयमा हाम्रो तर्फबाट गएका सथाीहरु वार्ताका लागि सरकारबाट गरिनु पर्ने न्यूनतम कामबारे ध्यानाकर्षण पत्र दर्ता गरेर आफ्ना कुरा दृढतापूर्वक राखी फर्कनु भएको छ।’

विद्यालय शिक्षा ऐन अबिलम्व जारी गर्नुपर्ने लगायत माग राखी भइरहेको आन्दोलनको नेतृत्व गरिरहेको महासंघका अध्यक्ष सुवेदीले सामाजिक सञ्जालबाट आह्वान गर्दै यस्तो लेखेका छन्–

शान्ति, शालीनता हाम्रो आन्दोलनका तागत हुन्। यो कुराबाट हामी विपथगामी भयौं भने हाम्रो आन्दोलनलाई नोक्सान हुन्छ। त्यसैले सबै आन्दोलनकारी साथीहरु शान्त, शालीन र अनुशासित रहनुहोला।

राज्य सञ्चालकहरुमा देखिएको आलस्य, शिक्षा प्रतिको गैरजिम्मेवारीपन तथा संवेदनहिनता विरुद्ध हामी लडिरहेका छौं। देशको विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटो हिंडाउने महाअभियानमा छौं। विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीको हितका पक्षमा लडिरहेका छौं। हामीलाई थाक्ने गल्ने सुविधा छैन। त्यसैले आन्दोलनको मोर्चामा अझ कटिबद्ध भएर लागौं। हाम्रो जित सुनिश्चित छ।

आन्दोलनको मोर्चामा अझै आइनपुग्नु भएका साथीहरु, आन्दोलनले गरेको आग्रह विपरीतका काममा संलग्न साथीहरु, तपाईसँग हाम्रा केही प्रश्न छन्। जितको हौसला लिएर विद्यालय फर्केको तपाईंको आफ्नै सहकर्मीलाई आफूले गरेको कर्मको भोलि के जवाफ दिनुहुन्छ? पेसाको विकास र सुरक्षाको लडाईंमा संलग्न नभएको पछुतो, हिनताबोध र कलङ्कबाट कसरी जोगिनुहुन्छ? आफ्नै मनभित्रबाट भएको आफ्नो आलोचनाबाट कसरी जोगिनुहुन्छ? यतातर्फ गम्भीर भइ आन्दोलनमा अबिलम्व जोडिनु हुन विनम्र आग्रह गर्दछौं। सबै जुटौं। हामी जित नजिक छौं।

महासंघको सरकारलाई प्रश्न : शिक्षा ऐन जारी गर्न मार्गचित्र के हो?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *