महासंघको सरकारलाई प्रश्न : शिक्षा ऐन जारी गर्न मार्गचित्र के हो?

काठमाडौं। आन्दोलनरत् नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्यस क्रममा यसअघि भएका सहमतिहरु तथा विद्यालय शिक्षा ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुसहित २४ बुँदे सूची पनि बुझाएको छ।

ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो भन्ने कुरामा प्रष्टता आवश्यक रहेको जनाइएको छ।

विगतमा भएका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको भन्ने प्रश्न पनि महासंघले गरेको छ। उक्त प्रश्नको ठोस जवाफ खोजेको महासंघको भनाइ छ।

वार्ताको वातावरण निर्माणमा ती विषयमा सरकारको तर्फबाट प्रष्टता आवश्यक भएको महासंघले जनाएको छ।

ध्यानाकर्षणपत्र बुझाउने महासंघको प्रतिनिधिमण्डलमा महासचिव तुलाबहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

उक्त पत्र बुझाउने क्रममा भएको छलफलमा महासंघका तर्फबाट ४ जना र मन्त्रालयको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्ले र २ जना सहसचिव गरी ४ जनाको सहभागिता थियो।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग अघि सार्दै महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ। माइतीघरमा भेला भएर निरन्तर नौ दिनदेखि उनीहरुले प्रदर्शन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *