फेरियो रे मेरो गाउँ
आजभोलि गाउँ पनि
झिलिमिली भएको छ रे
दलानमा बत्ती
आँगनमा पानी
घर घरमा पुग्या छ रे आजभोलि
हेर्दैछु म सञ्जालमा
फोटो र भिडियो
देख्दैछु
हात हातमा मोबाइल
र भित्तामा टिभी
कति रमाएका गाउँलेहरु
पठाएर छोराछोरी विदेशमा
बसेर आमाबुवा निरासामा
यस्तै छ रे आजभोलि मेरो गाउँघरमा
बिपनामा परदेशी भएँ
सपनामा देखेको छु गाउँ
त्यही गाउँले दिएको
प्यारो छ तल्लाघरे जेठो मेरो नाउँ।
सुनेकै छु आजभोलि
सुख गाउँ पस्या छ रे
कुटो कोदालो नगरी
छिमेकी देशको चामल
घर घरको भण्डारमा पस्या छ रे
पसिना बेचेकै पैसा हो
छोराछोरीले खाडीमा
आजभोलि गाउँघरमा रुख चढ्नु पर्दैन रे
सुन्तला आँप निबुवा कागतीहरु
कतै म्याङ्गो जुस बनेर
कतै रियल जुस
त कतै यप्पी र फ्रुटी भएर
पसल पसल पुग्या छन् रे
चिनी पानीमा केमिकल भरेर
अब त दौरा सुरुवाल भोटो पनि
लगाउन पर्दैन रे
मेरो गाउँमा
गुन्यू चोली पटुकी र मजेत्रो
म्युजियममा बस्न
शहरतिर बसाई सर्या छन् रे
काउली आलु साग
लसुन खुर्सानी अदुवा
सबै सीमापारबाटै
गाउँ आएका छन् रे
किन चल्नु खेल्नु माटोसँग
मिठै खान पाइएको छ
खाडीबाट पैसा आएकै छ
यसै पो भन्छन् रे गाउँलेहरु
आहा!
आमा हजुर आमा
मिनि स्कर्ट लगाएर
मन्दिर जान थाल्या छन् रे
छोरी, बुहारी बैनी, साली
भोटो मात्र लगाएर हिँड्छन् रे
ढिँडो रोटी गुन्द्रुक भटमास
मोही र दुध हराएछन्
आजभोलि गाउँमा
पिज्जा बर्गर चिकेन ममः
पुग्या छ रे
मैले कट्टु लगाएर
एसएलसी पास गर्या
मेरो त्यही गाउँमा
कसलाई दिउँ कसरी पो बधाई
विकास हो कि विनाश
गाउँ पस्या छ रे आजभोलि।
